सुकुमवासीले नियम पालना गरे भन्दै उत्सव मनाउनु पर्याप्त होइन : शंकर पोखरेल

काठमाडौं, १२ वैशाख । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुकुमवासी बस्ती हटाउने क्रममा सरकारले देखाएको कार्यशैलीप्रति टिप्पणी गर्दै मानवीय दृष्टिकोणसहित न्यायोचित समाधान आवश्यक रहेको बताउनुभएको छ।

सरकारले शनिबारदेखि उपत्यकाका मुख्य सुकुमवासी बस्तीहरू खाली गराउने प्रक्रिया सुरु गरेको छ। सोही क्रममा थापाथली क्षेत्रको बस्ती खाली गरिसकिएको छ।

यसै सन्दर्भमा सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै महासचिव पोखरेलले वर्षौंदेखि बसोबास गर्दै आएका श्रमिकहरूलाई स्थानान्तरण गर्दा उनीहरूको पीडा र बाध्यतालाई बेवास्ता गर्न नहुने उल्लेख गर्नुभएको छ। उहाँले नियम पालना भएको भन्दै मात्रै उत्सव मनाउनु पर्याप्त नहुने टिप्पणी गर्नुभएको हो।

उहाँले लेख्नुभएको छ, “अदृश्य त्रास र दबाबबीच आदेश पालना भयो भनेर खुसी मनाउनेहरूले वर्षौंदेखि बसोबास गर्दै आएका श्रमिकहरूको आँखा र अनुहारमा देखिएको पीडा पनि देख्नुपर्छ।”

पोखरेलका अनुसार शहर निर्माणमा योगदान दिएका ती श्रमिकहरू अहिले बाध्य भएर विस्थापित भइरहेका छन्, जसलाई केवल कानुनी प्रक्रियाको रूपमा मात्र हेर्न नहुने उहाँको भनाइ छ।

उहाँले पूर्ववर्ती सरकारले सुकुमवासी समस्या समाधानका लागि कानुनी आधार तयार गर्दै भूमि आयोगमार्फत प्रक्रिया अघि बढाएको उल्लेख गर्दै वर्तमान सरकारले पनि जनताको विश्वासलाई सम्मान गर्दै मानवीय समाधान खोज्नुपर्नेमा जोड दिनुभएको छ।

पोखरेलले विश्वास टुटेका नागरिकहरूको आक्रोश र विद्रोह गम्भीर हुन सक्ने भन्दै सरकारलाई समयमै संवेदनशील बन्न आग्रह गर्नुभएको छ।

प्रकाशित मिति: १२ बैशाख २०८३, शनिबार  १४ : ५०  बजे