सांसद विश्वराज पोखरेलले घमण्ड देखाएको भन्दै महावीर पुनको कडा टिप्पणी

काठमाडौं, १२ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलको व्यवहारलाई लिएर विवाद चर्किएको छ। एक विद्यालयका प्रधानाध्यापकलाई स्वागत गर्न नआएको भन्दै उहाँले सार्वजनिक रूपमा हप्काएको भिडियो बाहिरिएपछि चौतर्फी आलोचना भइरहेको हो।

यसै विषयमा स्वतन्त्र सांसद तथा वैज्ञानिक महावीर पुनले कडा टिप्पणी गर्दै सांसदको व्यवहारप्रति आपत्ति जनाउनुभएको छ। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उहाँले सांसदहरू जनताको ‘नोकर’ भएको स्मरण गराउँदै यस्तो आचरणलाई “पदको बेइज्जत” भएको टिप्पणी गर्नुभएको हो।

उहाँले लेख्नुभएको छ, “सांसद भनेको जनताको नोकर हो। आफ्नो क्षेत्रका जनताले अह्राएको काम गर्नुपर्छ। स्वागत गर्न आएनन् भन्दै धाक र रवाफ देखाउनु लज्जास्पद छ।”

पुनले यस्तो व्यवहार देखाउने जुनसुकै नेतामाथि कडा कारबाही हुनुपर्ने धारणा राख्दै आवश्यक परे बर्खास्त गरेर घर पठाउनुपर्ने बताएका छन्। साथै, सम्बन्धित सांसदले तत्काल माफी माग्नुपर्ने वा जनताले नै फिर्ता बोलाउनुपर्ने माग पनि उहाँले गर्नुभएको छ।

भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया देखिएको छ। सर्वसाधारणले ‘नयाँ शक्ति’ को रूपमा स्थापित भएको दलका सांसदबाट पनि पुरानै शैलीको व्यवहार देखिएको भन्दै आलोचना गरिरहेका छन्।

यस घटनाले सार्वजनिक पदमा रहेका व्यक्तिहरूको आचरण, जिम्मेवारी र जनताप्रतिको उत्तरदायित्वबारे फेरि बहस सुरु गराएको छ।

प्रकाशित मिति: १२ बैशाख २०८३, शनिबार  १० : ०३  बजे