युद्धविराम सकिनुअघि इरानलाई ट्रम्पको अल्टिमेटम: सम्झौता नभए नसोचेको युद्ध हुन्छ

काठमाडौँ, ८ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्धविरामको भविष्यबारे कडा टिप्पणी गरेका छन्। वाशिंगटन समयअनुसार बुधबार साँझ युद्धविरामको समयसीमा समाप्त हुँदैछ।यदि सो समयसीअघि कुनै ठोस सम्झौता नभए युद्धविराम थप विस्तार गर्ने सम्भावना असम्भवजस्तै रहेको राष्ट्रपति ट्रम्पले स्पष्ट पारे। ‘धेरै असम्भव’ छ– ‘सोमबार रेडियो कार्यक्रम द जोन फ्रेडरिक्स शो’मा बोल्दै उनले इरान वार्ताको टेबुलमा आउनैपर्ने अडान राखे।

ट्रम्पले भने, ‘उनीहरूले वार्ता गर्नेछन् र यदि गरेनन् भने तिनीहरूले पहिले कहिल्यै नदेखेका समस्याहरूको सामना गर्नेछन्। उनीहरूले कहिल्यै कल्पना नगरेको युद्ध हुनेछ।’संकटपूर्ण घडीमा कूटनीतिक प्रयासहरू पनि तीव्र पारिएका छन्। सीएनएनको समाचार स्रोतहरूका अनुसार, उपराष्ट्रपति जेडी भान्स र शीर्ष अमेरिकी अधिकारीहरू सम्भावित दोस्रो चरणको वार्ताका लागि पाकिस्तानतर्फ प्रस्थान गर्ने अपेक्षा गरिएको छ।

ट्रम्पले तेहरान वार्ताका लागि तयार हुनेमा विश्वास व्यक्त गरे तापनि इरानको विदेश मन्त्रालयले भने अहिलेसम्म कुनै औपचारिक वार्ता नभएकोमा जोड दिइरहेको छ। इरानी राष्ट्रपति मसूद पेजेश्कियानले पाकिस्तानी प्रधानमन्त्रीसँगको कुराकानीमा अमेरिकाले युद्धविरामको आवरणमा धम्की दिएको र अनुचित व्यवहार गरेको आरोप लगाउँदै दबाबको बीचमा कुनै सम्झौता नगर्ने स्पष्ट पारेका छन्।

ट्रम्पले ट्रुथ सोशलमा एक पोस्ट गर्दै इरान सम्झौतामा सहमत नभएसम्म अमेरिकी नौसेनाले इरानी बन्दरगाहमा लगाएको समुद्री नाकाबन्दी नहटाउने उद्घोष गरेका छन्। उनले यो घेराबन्दीका कारण इरानले दैनिक ५०० मिलियन डलर (करिब ४२०० करोड रुपैयाँ)को ठूलो आर्थिक क्षति भोगिरहेको र देश पूर्ण रूपमा ध्वस्त हुने अवस्थामा पुगेको दाबीसमेत गरेका छन्।क्षेत्रीय रूपमा सैन्य सरगर्मी पनि उत्तिकै बढेको छ। इराकी कमाण्डर अबु महदी अल–जाफरीले आफ्ना लडाकुहरू सैन्य अपरेशनहरू पुनः शुरू गर्न पूर्णरूपमा तयार रहेको घोषणा गरेका छन्। जटिल परिस्थितिबीच अर्कोतर्फ कूटनीतिको प्रयासपनि भइरहेका छन्।

प्रकाशित मिति: ८ बैशाख २०८३, मंगलबार  ०८ : १८  बजे