काठमाडौं, ७ वैशाख । मध्यपूर्वमा चलिरहेको तनावका बीच अमेरिकाले इरानको झण्डा बोकेको ‘टुस्का’ नामक मालवाहक पानी जहाजलाई नियन्त्रणमा लिएको जनाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत जानकारी दिँदै जहाजले चेतावनी अवज्ञा गरेपछि अमेरिकी नौसेनाले रोक्न बल प्रयोग गरेको बताउनुभएको छ ।
अमेरिकी सेनाले सार्वजनिक गरेको भिडियोमा नौसैनिकले मालवाहक जहाजतर्फ गोली चलाएको दृश्य देखिएको बीबीसीले जनाएको छ । इरानले भने घटनाबारे औपचारिक प्रतिक्रिया दिएको छैन । यो घटना अमेरिकाले इरानमाथि लगाएको समुद्री नाकाबन्दीका बीचमा भएको हो ।
इरान र अमेरिकाबीच दुई हप्ताको अस्थायी युद्धविराम लागू छ । तर, इरानले नाकाबन्दी जारी रहेसम्म वार्तामा नबस्ने संकेत दिएको छ । यता इस्लामाबादमा दोस्रो चरणको वार्ताको तयारी भइरहेको पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अमेरिकाले इरानलाई सम्झौतामा आउन दबाब दिँदै कडा चेतावनी दिएको छ भने इरानले नाकाबन्दी अन्त्य नभएसम्म प्रतिरोध जारी राख्ने संकेत गरेको छ । यसले मध्यपूर्व क्षेत्रको सुरक्षा अवस्था अझै अनिश्चित र संवेदनशील बनेको छ ।







प्रतिक्रिया