काठमाडौं, ६ वैशाख । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सरकारका पछिल्ला निर्णयहरूप्रति गम्भीर असन्तुष्टि जनाउँदै सुकुमबासी व्यवस्थापनदेखि ट्रेड युनियन अधिकारसम्मका विषयमा कडा खबरदारी गरेको छ।
पार्टीले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा उचित विकल्प नदिई सुकुमबासीलाई जबर्जस्ती उठीबास लगाइएको भन्दै उक्त कदमको विरोध गरिएको छ। सुकुमबासी परिवारको जीविकोपार्जनको सुनिश्चितता नगरी अमानवीय ढंगले घर भत्काउने कार्यले सीमान्तकृत समुदायमा राज्यप्रतिको विश्वास कमजोर बनाउने चेतावनी नेकपाले दिएको छ।
त्यस्तै, नयाँ सरकार गठनसँगै बजारमा महँगी र कालोबजारी बढेको उल्लेख गर्दै तत्काल नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न माग गरिएको छ। जनताको अपेक्षा अनुसार सुशासन र समृद्धि दिनुपर्ने सरकार उल्टै आर्थिक भार थप्ने दिशातर्फ उन्मुख भएको आरोप विज्ञप्तिमा लगाइएको छ।
विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने निर्णयप्रति पनि नेकपाले असहमति जनाएको छ। पञ्चायतकालमा समेत संगठित हुने अधिकार रहेको स्मरण गराउँदै संघीय लोकतान्त्रिक गणतन्त्रमा यस्ता कदम संविधानविरोधी हुने दाबी गरिएको छ। साथै, ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने प्रयासप्रति पनि पार्टीले गम्भीर चिन्ता व्यक्त गरेको छ।
सरकारका सकारात्मक प्रतिबद्धताको स्वागत गर्दै नेकपाले पूर्वाग्रही र एकपक्षीय नीतिको विरोध जारी राख्ने जनाएको छ।
‘सरकारलाई अझ लोकतान्त्रिक बन्न, सुकुमबासी, किसान र मजदुरप्रति जिम्मेवार हुन तथा अनावश्यक स्टन्टबाजीभन्दा सामाजिक न्यायमा केन्द्रित हुन आग्रह गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।







प्रतिक्रिया