अण्डमान सागरमा डुङ्गा पल्टिँदा झण्डै २५० जना रोहिङ्ग्या शरणार्थी बेपत्ता

काठमाडौं,२ वैशाख । अण्डमान सागरमा शरणार्थी बोकेको डुङ्गा पल्टिँदा झण्डै २५० जना रोहिङ्ग्या शरणार्थी तथा बङ्गलादेशी नागरिक बेपत्ता भएका छन् ।

अण्डमान सागर म्यानमार, थाइल्यान्ड र मलेसिया प्रायद्वीपको पश्चिमी किनारसँग जोडिएको क्षेत्र हो । डुङ्गामा पुरुष, महिला तथा बालबालिका चढेका र तीव्र हावा तथा अत्यधिक भारका कारण डुबेको राष्ट्रसंघलाई उद्धृत गर्दै अल जजिराले जनाएको छ ।

डुङ्गा दक्षिण बङ्गलादेशबाट मलेसियातर्फ जाँदै थियो । सन् २०१७ मा म्यानमारको सेनाद्वारा गरिएको दमन र जातीय सफायापछि ७ लाख ३० हजारभन्दा धेरै रोहिङ्ग्या नागरिक आफ्नो घर छोड्न बाध्य भई शरणार्थी शिविरमा बसिरहेका छन् ।

तीमध्ये हजारौँले हरेक वर्ष जोखिमपूर्ण समुद्री यात्रा गर्दै अन्य देश पुग्ने प्रयास गर्ने गरेका छन् । यस घटनामा बङ्गलादेश कोस्ट गार्डले ६ दिनअघि अर्थात् अप्रिल ९ तारिखमा नौ जनालाई उद्धार गरेको जनाएको छ ।

उद्धार गरिएकामध्ये एक महिलासहित केहीलाई मानव तस्करीमा संलग्न भएको आशङ्कामा नियन्त्रणमा लिइएको खबरमा उल्लेख छ । एक जीवित उद्धार भएका व्यक्तिले ४ दिनसम्म समुद्रमा यात्रा गरेपछि डुङ्गा पल्टिएको र आफूहरू ३६ घण्टासम्म समुद्रमा तैरिएर ज्यान जोगाउन सफल भएको बताएका छन् ।

उनका अनुसार अत्यधिक भीड र सास फेर्न गाह्रो हुँदा २५ देखि ३० जनाको यात्रा क्रममा नै ज्यान गएको थियो । डुङ्गा डुबेको घटना ढिलो गरी सार्वजनिक भएको हो ।

प्रकाशित मिति: २ बैशाख २०८३, बुधबार  १२ : २६  बजे