भदौ घटनामा कार्की आयोगको प्रतिवेदन अस्वीकार गर्दै एमालेकै लाइनमा उभियो नेकपा संयुक्त

काठमाडौं, २८ चैत । नेकपा संयुक्तले पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनलाई अपूर्ण र पूर्वाग्रही भएको टिप्पणी गर्दै नयाँ शक्तिशाली छानबिन आयोग गठन गर्न माग गरेको छ।

शनिबार बसेको पार्टीको महाधिवेशन आयोजक समिति बैठकले कार्की आयोगको प्रतिवेदनमाथि असन्तुष्टि जनाउँदै भदौ २३ र २४ गते भएका घटनाबारे पुनः निष्पक्ष छानबिन गर्न बहालवाला न्यायाधीशको अध्यक्षतामा नयाँ आयोग गठन गर्न सरकारसँग जोडदार माग गरेको हो।

पार्टीका कार्यवाहक अध्यक्ष घनश्याम भुसाल द्वारा जारी विज्ञप्तिमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषय समेटिएका ११ बुँदे निर्णय सार्वजनिक गरिएको उल्लेख छ।

विज्ञप्तिको दोस्रो बुँदामा भनिएको छ, “गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही भएकोले बहालवाला न्यायाधीशको अध्यक्षतामा शक्तिशाली छानबिन आयोग गठन गरी भदौ २३ र २४ को घटनामा संलग्न अपराधीहरूलाई कारबाही गर्न यो बैठक जोडदार माग गर्दछ ।”

यस्तै, अर्को निर्णयमा २०४८ सालयता उच्चपदस्थ कर्मचारी, राजनीतिक व्यक्तित्व, न्यायपालिकाका पदाधिकारी तथा सार्वजनिक ओहोदामा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय समिति गठन गरी आवश्यक कारबाही गर्न पनि माग गरिएको छ।

पार्टीले सार्वजनिक जवाफदेहिता र सुशासनका लागि विगतदेखि राज्यका महत्वपूर्ण पदमा बसेका व्यक्तिहरूको सम्पत्ति छानबिन आवश्यक रहेको धारणा राखेको छ।

प्रकाशित मिति: २८ चैत्र २०८२, शनिबार  २० : १०  बजे