संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्ने प्रचण्डको चेतावनी

काठमाडौं, २८ चैत । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानमाथि छेडखानी गर्दै जनताले प्राप्त गरेका हक–अधिकार खोस्ने कुनै पनि प्रयास भए सडक र सदन दुवैबाट कडा प्रतिवाद गर्ने चेतावनी दिनुभएको छ।

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सम्पर्क समन्वय प्रदेश समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले रास्वपा नेतृत्वको सरकारलाई रचनात्मक ढंगले सहयोग गर्न आफूहरू तयार रहेको बताउनुभयो। तर, संविधानमाथि छेडखानी हुने वा राष्ट्रिय हितमाथि कतैबाट आँच पुग्ने अवस्था आए सडक र संसद् दुवैबाट प्रतिवाद गरिने स्पष्ट पार्नुभयो।

उहाँले विद्यार्थीहरूको हक–अधिकार तथा कर्मचारी ट्रेड युनियनको अधिकारमाथि सरकारले प्रश्न उठाउन खोजेको आरोप लगाउँदै लामो संघर्ष, ठूलो त्याग र बलिदानबाट प्राप्त अधिकारहरूमाथि कुनै पनि प्रकारको हस्तक्षेप नगर्न सरकारलाई चेतावनी दिनुभयो।

संविधान संशोधनको आफूहरू विरोधी नरहेको उल्लेख गर्दै प्रचण्डले जनताको अधिकार अझ विस्तार गर्न र संघीयतालाई थप सुदृढ बनाउन गरिने संशोधनमा भने सकारात्मक भूमिका र सहयोग रहने बताउनुभयो।

उहाँले अपेक्षाभन्दा फरक ढंगले निर्वाचन परिणाम आएको उल्लेख गर्दै पार्टीभित्र त्यसबारे गम्भीर समीक्षा भइरहेको जानकारी दिनुभयो। आत्मसमीक्षा गर्दै पुनः जनतामाझ जाने र संगठनलाई सुदृढ बनाउन सके आगामी निर्वाचनमा विगतजस्तै परिणाम हासिल गर्न सकिने उहाँको भनाइ थियो।

प्रकाशित मिति: २८ चैत्र २०८२, शनिबार  १९ : ०३  बजे