स्वार्थको जगमा उभिएको नयाँ शक्ति तासको महलजस्तै ढल्छ : महासचिव पोखरेल

काठमाडौं, २८ चैत । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले लोकप्रियतावाद र अराजकताको जगमा उभिएका नयाँ शक्तिहरूको भविष्य सङ्कटमा रहेको दाबी गर्नुभएको छ। उहाँले विचार र सिद्धान्तबिनाको एकता लामो समयसम्म टिक्न नसक्ने बताउनुभयो।

शनिबार आयोजित एमाले सम्पर्क विशेष सङ्गठन कमिटीको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले नयाँ भनिएका राजनीतिक शक्तिहरूबीचको आन्तरिक द्वन्द्वलाई संकेत गर्दै विचार नमिल्ने पक्षहरू स्वार्थका आधारमा एक ठाउँमा उभिए पनि त्यो एकता दीर्घकालीन नहुने जिकिर गर्नुभयो।

उहाँले भन्नुभयो, “जहाँ विचार मिल्दैन, त्यहाँ स्वार्थको टकराव सुरु हुनासाथ विग्रह देखिन्छ। जुन शक्ति जति तीव्र गतिमा उदाउँछ, त्यसको पतन पनि उति नै छिटो हुन्छ। पपुलिज्मले जनताका समस्या समाधान गर्दैन, केवल भ्रम फैलाउँछ।”

महासचिव पोखरेलले नयाँ शक्तिहरूले लोकतन्त्रका स्पेसहरू खुम्च्याउन खोजेको आरोप लगाउँदै विद्यार्थी संगठन र ट्रेड युनियनमाथि प्रहार गरिएको टिप्पणी गर्नुभयो। उहाँले एमाले अधिनायकवाद र स्वेच्छाचारी शासनविरुद्ध चट्टानझैँ उभिने स्पष्ट पार्नुभयो।

संसद्मा एमालेको संख्या कम भए पनि भूमिका “निर्णायक र आक्रामक” रहने उहाँको भनाइ थियो।

प्रधानमन्त्रीले संसद्मा बोलेर जनतासँग संवाद नगरेको विषयमा समेत उहाँले आपत्ति जनाउनुभयो। सुरक्षा निकायका कार्यक्रममा घण्टौँ बोल्न सक्ने प्रधानमन्त्री जनताको सार्वभौम थलो संसद्मा बोल्न डराउनु कस्तो लोकतन्त्र हो भन्दै उहाँले प्रश्न उठाउनुभयो।

उहाँले संसदीय मोर्चालाई पार्टीको पुनर्जागरण अभियानसँग जोडेर सरकारका अलोकतान्त्रिक र गैरकानुनी कदमको भण्डाफोर गर्न सांसदहरूलाई आह्वान गर्नुभयो।

महासचिव पोखरेलले वर्तमान सरकार र नयाँ भनिएका शक्तिहरूको “सुशासनको मुकुन्डो उत्रिएको” टिप्पणी समेत गर्नुभयो। सुशासनको नाममा आएका मन्त्री र सभामुखले पारदर्शिताको धज्जी उडाएको आरोप लगाउँदै उहाँले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्नेमा जोड दिनुभयो।

सभामुखको सम्पत्ति विवरणमाथि प्रश्न उठाउँदै विदेशमा कमाएको भनिएको सम्पत्ति कुन माध्यमबाट आयो, राज्यलाई कर तिरिएको छ कि छैन भन्नेबारे स्पष्ट जवाफ दिनुपर्ने उहाँको भनाइ थियो।

मन्त्रीहरूले सम्पत्ति विवरण बुझाउन आलटाल गरेकोप्रति असन्तुष्टि जनाउँदै उहाँले एमालेका नेताहरू जुनसुकै अग्निपरीक्षा दिन तयार रहेको उल्लेख गर्नुभयो।

त्यसैगरी, कार्की आयोगलाई “प्रतिशोधको हतियार” बनाइएको आरोप लगाउँदै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दुःख दिने प्रयास भएको र त्यसको कडा प्रतिवाद गरिने चेतावनी पनि उहाँले दिनुभयो।

प्रकाशित मिति: २८ चैत्र २०८२, शनिबार  १३ : २९  बजे