काठमाडौं, २० चैत्र । हेटौँडाबाट एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–१०, भुटनदेवीस्थित सोलिड्यारिटी माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको माध्यमिक शिक्षा परीक्षा (एसइई) केन्द्रबाट उनलाई पक्राउ गरिएको हो ।
शुक्रबार बिहान अर्काको नाममा जारी गरिएको प्रवेशपत्रमा आफ्नै फोटो टाँसी परीक्षा दिन आएका नक्कली परीक्षार्थीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।पक्राउ पर्नेमा सिन्धुलीको मरिन गाउँपालिका–४ घर भई हाल हेटौँडा उपमहानगरपालिका–४ स्थित हेटौँडा स्कुल अफ म्यानेजमेन्ट कलेजमा कक्षा ११ मा अध्ययनरत १८ वर्षीय बिराज विक रहनुभएको छ । शुक्रबार नेपाली विषयको परीक्षा रहेको थियो ।
प्रहरीका अनुसार अनुसन्धानका क्रममा विकले हेटौँडा उपमहानगरपालिका–१२, पदमपोखरी निवासी १९ वर्षीय अङ्किश श्रेष्ठको नामको प्रवेशपत्र प्रयोग गरी परीक्षा दिन आएको खुल्न आएको छ । घटनामा संलग्न दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी थप अनुसन्धान भइरहेको छ ।
बिहीबारदेखि सुरु भएको एसइई परीक्षामा मकवानपुर जिल्लाबाट ७ हजार १९२ जना विद्यार्थी सहभागी भएका छन् । जिल्लाका सामुदायिक तथा संस्थागत गरी कुल १ सय ४२ विद्यालयका विद्यार्थी परीक्षा दिइरहेका छन् ।







प्रतिक्रिया