काठमाडौँ, १९ चैत । हनी ट्र्यापमा पारेर एक अटोमोबाइल व्यवसायीबाट ६ करोड ५२ लाख रुपैयाँभन्दा बढी रकम असुलेको आरोपमा टिकटकर तुलसा अधिकारीसहित १० जनाविरुद्ध ललितपुर जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ।
जिल्ला सरकारी वकिल कार्यालय, ललितपुरले तुलसा अधिकारीमाथि ठगी, आपराधिक लाभ, आपराधिक विश्वासघात तथा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अभियोग दायर गरेको हो।
अभियोगपत्रअनुसार, काभ्रे घर भई ललितपुरमा बसोबास गर्दै आउनुभएका अटोमोबाइल व्यवसायी शंकर चिमोरियासँग तुलसा अधिकारीको २०७५ सालमा व्यावसायिक सम्बन्धका क्रममा चिनजान भएको थियो। त्यसपछि व्यावसायिक भेटघाटको बहानामा सम्बन्ध नजिकिएपछि शारीरिक सम्बन्धको भिडियो तथा घटनालाई हतियार बनाएर ब्ल्याकमेलिङ सुरु गरिएको अनुसन्धानबाट खुलेको छ।
पीडितले आफ्नो सामाजिक प्रतिष्ठा जोगाउन भन्दै पटक–पटक गरी नगद, जिन्सी, सुनचाँदी, सवारीसाधन, मोबाइल फोन, पसल भाडा तथा अन्य शीर्षकमा ठूलो रकम तिर्न बाध्य हुनुभएको अभियोगपत्रमा उल्लेख छ।
प्रहरी अनुसन्धानका अनुसार पीडितबाट स्कुटर, आईफोन, सुनका गरगहना, पसल सजावट, विद्यालय शुल्कदेखि विदेशमा रहेका बैंक खातासम्म रकम पठाइएको देखिएको छ। बैंक स्टेटमेन्ट र बिलका आधारमा मात्रै करोडौँ रुपैयाँ बराबरको लेनदेन पुष्टि भएको जनाइएको छ।
यस प्रकरणमा तुलसा अधिकारीसँगै निलिका लामिछानेसहित १० जनाविरुद्ध मुद्दा दायर गरिएको छ। पक्राउ परेकी एक प्रतिवादीलाई साधारण जमानतमा रिहा गरिएको छ भने अन्य अधिकांश प्रतिवादी फरार रहेको जनाइएको छ।
अनुसन्धानले अवैध रूपमा असुल गरिएको रकम हुन्डीमार्फत विदेश, विशेषगरी चीनसम्म पुर्याइएको आशंका पनि औँल्याएको छ। मुख्य योजनाकार मानिएकी तुलसा अधिकारी हाल चीनमा रहनुभएको अभियोगपत्रमा उल्लेख छ।
सरकारी वकिल कार्यालयले ठगी तथा आपराधिक लाभतर्फ ६ करोड ५२ लाख २९ हजार रुपैयाँभन्दा बढी बिगो कायम गरेको छ भने सम्पत्ति शुद्धीकरणतर्फ २१ करोड १२ लाख रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ।
यो प्रकरणले पछिल्लो समय सामाजिक सञ्जाल व्यक्तित्व र आर्थिक अपराधबीचको सम्बन्धबारे गम्भीर बहस जन्माएको छ। प्रहरीले फरार प्रतिवादीहरूको खोजी तीव्र बनाएको जनाएको छ।







प्रतिक्रिया