काठमाडौं, १९ चैत्र । पोर्चुगल सरकारले काठमाडौंमा कूटनीतिक नियोग (कन्सुलर कार्यालय) खोल्ने घोषणा गरेको छ। बुधबार परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका विदेशमन्त्री पाउलो रंगेल बीच भएको टेलिफोन वार्ताका क्रममा उक्त घोषणा गरिएको हो।
पोर्चुगलको विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्स मार्फत जानकारी दिँदै काठमाडौंमा कन्सुलर कार्यालय स्थापना गर्ने निर्णयलाई नेपाल–पोर्चुगल द्विपक्षीय सम्बन्धमा महत्वपूर्ण लगानी का रूपमा उल्लेख गरेको छ। मन्त्रालयले पर्यटन, कृषि र प्रविधि क्षेत्रलाई पनि सहकार्यका प्राथमिक क्षेत्रका रूपमा औँल्याएको छ।
मन्त्रालयको भनाइअनुसार, “विदेशमन्त्री पाउलो रंगेलले नेपाली समकक्षी शिशिर खनाललाई हालै परराष्ट्रमन्त्री नियुक्त हुनुभएकोमा बधाई दिनुभयो। सो अवसरमा काठमाडौंमा पोर्चुगलको कन्सुलर कार्यालय स्थापना गर्ने घोषणा पनि गरियो।”
नेपाल सरकारले लामो समयदेखि काठमाडौंमा पोर्चुगलको दूतावास वा कूटनीतिक कार्यालय खोल्न आग्रह गर्दै आएको थियो। सोही आग्रहलाई सम्बोधन गर्दै पोर्चुगलले पहिलो चरणमा कन्सुलर कार्यालय स्थापना गर्ने निर्णय गरेको हो।
हाल पोर्चुगलमा ६० हजारभन्दा बढी नेपाली बसोबास गर्दै आएका छन्। काठमाडौंमा पोर्चुगलको कूटनीतिक प्रतिनिधित्व नहुँदा कागजात प्रमाणीकरण, भिसा तथा अन्य कानुनी प्रक्रियामा नेपाली नागरिकले ठूलो झन्झट व्यहोर्दै आएका थिए। नयाँ कार्यालय खुलेपछि ती सेवा सहज हुने अपेक्षा गरिएको छ।
यसैबीच, पोर्चुगलमा रहेका करिब दुई हजार नेपाली कानुनी समस्यामा परेको विषय पनि टेलिफोन वार्तामा उठाइएको थियो। नक्कली छाप प्रयोग गरी कागजात प्रमाणीकरण गरिएको भेटिएपछि उनीहरू समस्यामा परेको जनाइएको छ।
परराष्ट्रमन्त्री खनालले मानवीय आधारमा ती नेपालीको समस्या समाधानका लागि पहल गरिदिन आग्रह गर्नुभएको थियो। त्यसप्रति पोर्चुगलका विदेशमन्त्रीले सकारात्मक प्रतिक्रिया दिनुभएको बताइएको छ।







प्रतिक्रिया