मोरङ, १७ चैत । कोशी प्रदेश का मुख्यमन्त्री हिक्मतकुमार कार्की ले आगामी आर्थिक वर्षदेखि नतिजामुखी बजेट निर्माण गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
सोमबार विराटनगरमा कोशी प्रदेश योजना आयोग द्वारा आयोजित योजना बैंक सूचना प्रणालीसम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले विगतका असन्तुलित अभ्यासको गम्भीर समीक्षा गर्दै यसपटक सबै क्षेत्रमा प्रत्यक्ष नतिजा दिने गरी बजेट निर्माण गरिने बताउनुभयो।
उहाँले भन्नुभयो, “विगतमा भएका कमीकमजोरी दोहोरिन नदिई यसपटक सबै क्षेत्रमा देखिने परिणाम दिने गरी बजेट ल्याइनेछ।”
मुख्यमन्त्री कार्कीले योजना बैंकलाई व्यवस्थित रूपमा सञ्चालन गरी बैंकमा दर्ता भएका योजनालाई प्राथमिकता दिइने जानकारी दिनुभयो। जिल्ला तहबाटै बजेट प्रविष्ट गर्ने प्रणाली विकास गरिएको उल्लेख गर्दै उहाँले यसले बजेट निर्माण प्रक्रियालाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो।
उहाँले प्रदेश संरचनाले यसपटक जनताले प्रत्यक्ष देख्ने गरी काम गर्नुपर्नेमा जोड दिँदै मन्त्री र सचिव फेरिरहने परिपाटीका कारण विकासको गति सुस्त भएको गुनासोसमेत गर्नुभयो।
यसैबीच, प्रदेश सरकारले प्रदेशभित्र रहेका विभिन्न विश्वविद्यालय तथा क्याम्पससँग विकास, सेवा प्रवाह, अनुसन्धान तथा सम्भाव्यता अध्ययनसम्बन्धी सम्झौता गरेको छ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत केन्द्रीय प्रविधि क्याम्पस धरानसँग परम्परागत घरेलु मदिराको उत्पादन, गुणस्तर परीक्षण, ब्रान्डिङ र बजारीकरणसम्बन्धी अध्ययनका लागि सम्झौता गरिएको जनाइएको छ।
त्यस्तै, पूर्वाञ्चल विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय स्नातकोत्तर क्याम्पस विराटनगर तथा मनमोहन प्राविधिक विश्वविद्यालय सँग पनि विभिन्न विषयमा सहकार्य सम्झौता भएको मुख्यमन्त्री कार्कीले जानकारी दिनुभयो।
प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौला ले उक्त सम्झौता र आयोजना बैंकको कार्यान्वयनले प्रदेशको विकास तथा समृद्धिमा उल्लेखनीय सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा प्रदेश सभामुख, विभिन्न मन्त्रीहरू, आयोगका पदाधिकारी, प्रमुख सचिव, सचिवहरू, पत्रकार तथा शैक्षिक संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।







प्रतिक्रिया