काठमाडौं, १४ चैत्र । आज पक्राउ परेर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य परीक्षणका क्रममा पित्तथैलीमा २३ मिलिमिटरको पत्थरी देखिएको छ।
पक्राउपछि स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएका ओलीलाई चिकित्सकहरूले विभिन्न जाँच गरेपछि पित्तथैलीमा उल्लेख्य आकारको पत्थरी देखिएको पुष्टि गरेका हुन्। स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उहाँलाई अस्पतालमै भर्ना गरेर उपचार अघि बढाइएको अस्पताल स्रोतले जनाएको छ।
ओली यसअघि नै मिर्गौला प्रत्यारोपण गराइसक्नुभएको संवेदनशील बिरामी हुनुहुन्छ। यस्तो अवस्थामा स्वास्थ्य अवस्था जटिल हुनसक्ने जोखिमका बीच पक्राउ गरिएको विषयलाई लिएर विभिन्न वृत्तमा प्रश्न उठ्न थालेका छन्।
राजनीतिक तथा कानुनी विश्लेषकहरूले गम्भीर स्वास्थ्य अवस्थाका व्यक्तिलाई पक्राउ गर्ने निर्णय उपयुक्त नभएको टिप्पणी गर्न थालेका छन्। उनीहरूका अनुसार विधिको शासनभित्र रहेर पनि मानवीय संवेदनशीलतालाई प्राथमिकता दिनुपर्ने हुन्छ।
यसैबीच, चिकित्सकहरूको निगरानीमा रहेका ओलीको थप उपचार योजना तयार भइरहेको छ भने उहाँलाई केही दिन अस्पतालमै राखेर निगरानी गरिने जनाइएको छ।
उच्च राजनीतिक घटनाक्रमसँगै स्वास्थ्य अवस्थाको विषय जोडिँदा ओलीको पक्राउप्रति थप बहस र चासो बढेको देखिएको छ।







प्रतिक्रिया