कार्की आयोगको प्रतिवेदन अस्पष्ट र अपूर्ण : कांग्रेस

काठमाडौं, १२ चैत्र । नेपाली कांग्रेसले जेनजी आन्दोलनसँग सम्बन्धित कार्की आयोगको प्रतिवेदन पहिलो दृष्टिमै अस्पष्ट र अपूर्ण देखिएको टिप्पणी गरेको छ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता देवराज चालिसेले उक्त प्रतिवेदनबारे प्रारम्भिक प्रतिक्रिया दिँदै यसमा स्पष्टता र पूर्णताको अभाव देखिएको बताउनुभयो। उहाँले प्रतिवेदनको विस्तृत अध्ययनपछि मात्रै पार्टीले औपचारिक धारणा सार्वजनिक गर्ने जानकारी दिनुभयो।

उहाँले मुलुकमा सुशासन कायम गर्न भ्रष्टाचारसम्बन्धी विभिन्न प्रकरणहरूको छानबिनलाई प्राथमिकतामा राख्न नयाँ सरकारलाई सुझाव दिनुभयो। “भ्रष्टाचारका मुद्दाहरूलाई गम्भीरतापूर्वक अघि बढाउनुपर्छ, यसलाई राजनीतिक बहस वा जनमत प्रभावित पार्ने माध्यम बनाउनु हुँदैन,” उहाँले भन्नुभयो।

प्रवक्ता चालिसेले कांग्रेसले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै संशोधित पार्टी विधानअनुसार सांसदहरूको कार्यसम्पादन मूल्याङ्कन गरिने उल्लेख गर्नुभयो। उहाँका अनुसार पार्टीले संस्थागत सुधार र जिम्मेवार राजनीति अघि बढाउने नीति लिएको छ।

कार्की आयोग तथा मानवअधिकार आयोगका प्रतिवेदनहरू पार्टीले अध्ययन गरिरहेको जनाउँदै उहाँले विस्तृत निष्कर्ष चाँडै सार्वजनिक गरिने बताउनुभयो।

यसैबीच, उहाँले कांग्रेस महाधिवेशनको तयारीमा रहेको उल्लेख गर्दै पार्टीभित्र देखिएका मतभेदलाई स्वाभाविक आन्तरिक लोकतन्त्रको अभ्यासका रूपमा लिनुपर्ने धारणा राख्नुभयो। “केही मतमतान्तर भए पनि पार्टीलाई एकढिक्का बनाएर अघि बढ्नु आजको आवश्यकता हो,” उहाँले भन्नुभयो।

कांग्रेसले समग्र रूपमा सुशासन, पारदर्शिता र जिम्मेवार शासन प्रणाली स्थापना गर्न आफू प्रतिबद्ध रहेको पनि स्पष्ट पारेको छ।

प्रकाशित मिति: १२ चैत्र २०८२, बिहिबार  २० : ४४  बजे