जाँचबुझ आयोगको प्रतिवेदन अस्वीकार्य : अध्यक्ष ओली

काठमाडौं, १२ चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनप्रति कडा असन्तुष्टि व्यक्त गर्नुभएको छ। उहाँले उक्त प्रतिवेदन “निन्दनीय र खेदजनक” रहेको भन्दै स्वीकार्य नभएको स्पष्ट पार्नुभएको हो।

बिहीबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा प्रतिनिधिसभा तथा राष्ट्रियसभा सदस्यहरूसँगको छलफल कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आयोगको प्रतिवेदन पूर्वाग्रहपूर्ण ढंगले तयार गरिएको आरोप लगाउनुभयो। उहाँले प्रतिवेदनले यथार्थ चित्रण गर्न नसकी राजनीतिक उद्देश्य प्रेरित निष्कर्ष प्रस्तुत गरेको जिकिर गर्नुभयो।

उहाँले विशेषगरी आफूविरुद्ध गरिएको फौजदारी अभियोग सिफारिसप्रति गम्भीर आपत्ति जनाउँदै घटनास्थलमा आफ्नो प्रत्यक्ष संलग्नता नरहेको अवस्थामा यस्तो सिफारिस गर्नु अन्यायपूर्ण भएको बताउनुभयो। “घटनामा मेरो उपस्थिति नै थिएन, तर पनि ममाथि मुद्दा चलाउन सिफारिस गरिएको छ, यो पूर्ण रूपमा अस्वीकार्य छ,” उहाँको भनाइ थियो।

अध्यक्ष ओलीले प्रतिवेदनले तथ्यपरक अनुसन्धानभन्दा चरित्र हत्या र घृणाको राजनीति झल्काउने काम गरेको आरोप पनि लगाउनुभयो। साथै, हिंसात्मक गतिविधिमा संलग्न वास्तविक व्यक्तिहरूसँग पर्याप्त बयान नलिइएको भन्दै आयोगको कार्यप्रणालीमाथि प्रश्न उठाउनुभयो।

उहाँले सिंहदरबार, सर्वोच्च अदालतलगायतका संवेदनशील स्थानमा भएको आगजनी तथा तोडफोड घटनामा संलग्न व्यक्तिहरूको पहिचान नगरी राजनीतिक नेतृत्वमाथि दोष थोपर्न खोजिएको दाबी गर्नुभयो।

यसैक्रममा अध्यक्ष ओलीले पछिल्लो निर्वाचन परिणामबारे टिप्पणी गर्दै त्यसलाई “अनपेक्षित, अस्वाभाविक र अपत्यारिलो” भएको उल्लेख गर्नुभयो। यद्यपि विस्तृत विश्लेषण गर्ने समय अझै बाँकी रहेको उहाँले बताउनुभयो।

पार्टीभित्र एकता र अनुशासनको आवश्यकता औँल्याउँदै उहाँले सांसदहरूलाई जिम्मेवार र प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिनुभयो। एमालेलाई आधुनिक सोच, परिवर्तनकारी दृष्टिकोण र अनुशासनमा आधारित पार्टीका रूपमा प्रस्तुत गर्दै उहाँले व्यक्तिगत स्वार्थभन्दा पार्टीको हितलाई प्राथमिकता दिन आग्रह गर्नुभयो।

साथै, जिम्मेवारी बाँडफाँटमा पदको माग नगरी काम र योगदानका आधारमा मूल्यांकन गरिने स्पष्ट पार्दै अध्यक्ष ओलीले पार्टीलाई एकताबद्ध र सुदृढ बनाएर अघि बढ्न सबैलाई आह्वान गर्नुभयो।

प्रकाशित मिति: १२ चैत्र २०८२, बिहिबार  २० : ४२  बजे