काठमाडौं, १२ चैत । रास्वपा सांसद रहबर अन्सारी स्कुलको पोशाक लगाएर सांसदको सपथ खान गएका थिए । उहाँ निलो सर्ट र पाइन्ट अनि पिठ्यूँमा ब्याग भिरेर संसद भवनभित्र छिर्दा सञ्चारकर्मीले घेरेका थिए । प्राय सांसदहरु राष्ट्रिय पोशाकमा आउँदा रहबर भने फरक देखिन खोजेका हुन् ।
सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले ३५ वर्षअघि बुवाले आफूलाई विद्यालय लगेको सम्झिनुभयो । विद्यालय पोशाक लगाएकोबारे उहाँले भन्नुभयो,‘३५ वर्षअघि बुवाले मलाई हात समातेर विद्यालय लैजानुभएको थियो । आज मेरो ७४ वर्षको बुवाले मलाई संघीय संसद भवनमा ल्याउनुभएको छ ।
उहाँको लागि व्यक्तिगत गर्वको विषय होला । तर यो सम्पूर्ण अभिभावकका लागि मैले सम्मान गर्ने मौका पाएको छु । हाम्रो सफलता र समृद्धि विद्यालयबाट सुरु हुन्छ । आज यो खुशीको माहोलमा सबैभन्दा ठूलो अंशियार बुवा र शिक्षकहरु हुन् भन्ने सन्देश दिन चाहन्छु । मैले बोकेको झोला विद्यार्थीकै झोला हो । ज्ञानको झोला हो ।’
रहबर नेकपाबाट रास्वपा प्रवेश गर्नुभएको थियो । उहाँले प्रत्यक्ष निर्वाचनमा बारा–२ बाट निर्वाचित हुनुभएको हो । यस कुरालाई लिएर अहिले सामाजिक सञ्जालमा केही पक्षमा उभिएका छन् भने केहीले खिचिट्युरी गरेका छन् । केहीले राम्रो प्रतिक्रिया जनाए पनि धेरैले भने नयाँ जोगिले खरानी घस्छन्, यो चटक हो भन्ने प्रतिक्रिया दिएका छन् ।








प्रतिक्रिया