काठमाडौं, १२ चैत । फिल्मको प्रचारका लागि गीतसंगीत महत्त्वपूर्ण मानिन्छ । गीतले फिल्मप्रति दर्शकको चासो र उत्साह बढाउन ठूलो भूमिका खेल्ने गरेको छ । तर, वर्षमा एकाध फिल्मका गीत मात्र दर्शकको रोजाइमा पर्ने गरेका छन् ।
यस वर्षकै कुरा गर्ने हो भने ‘डोको बुन्ने’, ‘काफ्ले’, ‘चाइनेजो जिन्दगानीमा’, ‘मखमली’, ‘न्याउली वनैमा’ जस्ता फिल्मी गीत निकै लोकप्रिय भए । यतिबेला भने फिल्म ‘लालीबजार’को ‘मायालाई के दिऊँ म बैना’ गीत सर्वाधिक चर्चामा छ । दुई साताअघि युट्युबमा सार्वजनिक भएको यो गीत टिकटकमा भाइरल नै बनेको छ ।
गीतमाथि लगभग ४ लाख टिकटक भिडियो बनिसकेका छन् भने युट्युबको सर्टस् तथा फेसबुक र इन्स्टाग्रामको रिल्समा पनि दर्शकहरूले उक्त गीतमा बनाएका भिडियो अनगिन्ती भेटिन्छन् । लोकभाकाको यस गीतलाई युट्युबमा भ्यूज पनि लोभलाग्दो मिलेको छ ।
१३ दिनमा गीतलाई ५० लाखभन्दा बढीले हेरिसकेका छन् । गीतले दर्शकबाट प्रशंसा पनि उत्तिकै पाएको छ । गीतको भाकादेखि भिडियोको कोरियोग्राफीसम्मको सराहना गरिएको छ । अभिनेत्री स्वस्तिमा खड्का र बाल कलाकार समाइरा थापाको नृत्य कौशलको पनि दर्शकहरूले खुलेर तारिफ गरेका छन् ।
‘मायालाई के दिऊँ म बैना’ गीतलाई अझ लोकप्रिय बनाउन फिल्मको टिमले विभिन्न कलाकारसँग सहकार्य पनि गरिरहेको छ । वर्षा राउतदेखि तेरिया फौजा मगरसम्मलाई फिल्मकी मुख्य अभिनेत्री स्वस्तिमा खड्कासँग गीतमा नृत्य गराएर त्यसको भिडियो सामाजिक सञ्जालमा राखिएको छ । यसले गीतप्रति दर्शकको आकर्षण थप बढाएको छ ।
आगामी बैशाख १८ गतेबाट प्रदर्शन हुने यस फिल्ममा स्वस्तिमा र समाइरासहित रवीन्द्रसिंह बानियाँ, मुकुन्द श्रेष्ठ, विशाल देवकोटा, प्रशंसा सुवेदी, अभय बराल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा लगायतका कलाकारहरूको अभिनय रहेको छ । यम थापाको निर्देशनमा बनेको फिल्ममा उनी स्वयंको कथा छ भने पटकथा तथा संवाद यम र प्रदीप भट्टराईले लेखेका हुन् ।








प्रतिक्रिया