काठमाडौं, १० चैत्र । चैती छठ पर्वअन्तर्गत आज षष्ठी तिथिका अवसरमा मिथिला क्षेत्रमा अस्ताउँदो सूर्यलाई अर्घ दिँदै मुख्य पूजा गरिँदैछ। मधेश प्रदेशसहित नेपाल र भारतका मिथिलाञ्चल क्षेत्रमा श्रद्धा र भक्तिभावका साथ यो पर्व मनाइँदै आएको छ।
चार दिनसम्म चल्ने यस पर्व आइतबार चतुर्थी तिथिदेखि विधिपूर्वक सुरु भएको हो। आज मुख्य दिनका रूपमा व्रतालुहरू जलाशयमा प्रवेश गरी अस्ताउँदो सूर्यको आराधना गर्दै अर्घ अर्पण गर्ने परम्परा रहेको छ।
व्रतालुहरूले घरमै तयार गरिएका ठकुवा, भुसवा, खजुरिया, पेरुकियालगायत परिकार तथा फलफूल, मूलाबाली र पूजाका सामग्री नाङ्लो तथा ढाकीमा सजाएर भक्ति गीत गाउँदै छठ घाटसम्म पुग्ने गरेका छन्। त्यसपछि जलाशयमा उभिएर सूर्य अस्ताएसम्म पूजा गरी अर्घ अर्पण गर्ने परम्परा छ।
महोत्तरी, जलेश्वर, बर्दिवास, गौशाला, मटिहानीलगायत क्षेत्रका नदी, पोखरी तथा तलाउहरूमा बिहानदेखि नै भक्तजनको भीड लागेको छ। यस अवसरमा बिग्ही, रातो मरहा, जङ्गहा र अङ्कुसी नदी किनारमा विशेष पूजा आयोजना गरिएको छ।
पर्वको दोस्रो दिन ‘खरना’ सम्पन्न भइसकेको छ भने अन्तिम दिन भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व समापन गरिनेछ।
धार्मिक मान्यताअनुसार सूर्य उपासनामार्फत पारिवारिक सुख, शान्ति, स्वास्थ्य लाभ र मनोकामना पूरा हुने विश्वास गरिन्छ। साथै, छठ पर्वले सामाजिक सद्भाव, सहिष्णुता र अहिंसाको सन्देश दिने पर्वका रूपमा पनि परिचित छ। पहिला तराई–मधेशमा सीमित रहेको छठ पर्व अहिले काठमाडौं, पोखरा, धरानलगायत देशका प्रमुख सहरमा समेत विस्तार हुँदै गएको छ, जसले यसको सांस्कृतिक महत्व झन् व्यापक बनाएको छ।







प्रतिक्रिया