स्वास्थ्य बीमाको ४० प्रतिशत प्रिमियम ललितपुर महानगरले तिर्ने

काठमाडौं, १८ असार । ललितपुर महानगरले महानगरबासीको स्वास्थ्य बीमाको ४० प्रतिशत प्रिमियम तिर्ने भएको छ । ललितपुर महानगर र राष्ट्रिय बीमा बोर्डबीच आज प्रिमियम तिर्नेसम्बन्धी समझदारी पत्रमा ललितप्रले महानगरबासीको स्वास्थ्य बीमामा ४० प्रतिशत प्रिमियम तिर्ने उल्लेख गरेको छ ।

समझदारी पत्रमा महानगर प्रमुख चिरीबाबु महर्जन र बीमा बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले संयुक्तरुपमा हस्ताक्षर गर्नुभएको छ । यसैगरी नगर प्रहरी, महानगरका सरसफाइकर्मी, सवारीचालक र महानगरमा बसोबास गर्ने एकल महिला र टोल स्वास्थ्य उत्प्रेरकको सतप्रतिशत नै प्रिमियम तिर्ने महानगरले जनाएको छ ।

ललितपुर महानगरले पाटन अस्पतालसँगको प्राविधिक सहयोगमा स्वास्थ्य बीमा कार्यक्रम दुई वर्षअघिबाट शुरु गरेको हो । हाल बिमितले यल स्वास्थ्य केन्द्र मार्फत बिमा कार्यक्रमको प्रथम सेवा केन्द्रबाट प्राप्त हुने स्वास्थ्य सेवा लिइरहेका छन् । ललितपुर महानगरका प्रमुख महर्जनले पाटन अस्पतालसँग सहकार्य गरेर महानगरको स्वास्थ्य क्षेत्रमा नयाँ र नौलो काम गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘हामीले महानगरबासीलाई प्रदान गर्ने स्वास्थ्य सेवाको प्रस्थान विन्दु हो ।’ महर्जनका अनुसार महानगर कोभिडको समयदेखि नै पाटन अस्पतालसँग सहकार्य गर्दै आएको छ । कोभिडपछि महानगरको सहयोगमा पाटन अस्पतालमा अक्सिजन प्लान्टसमेत जडान गरेको नगर प्रमुख बताउनुहुन्छ ।

पाटन अस्पतालमा मर्चरी हाउसको स्तरोन्नतिको लागि समेत महानगरले सहयोग गरेको थियो । उहाँले यल स्वास्थ्य केन्द्रमा चाप बढेको बताउँदै उपयुक्त स्थानमा यसलाई विस्तार गर्ने तयारी गरेको जानकारी दिनुभयो । महानगर प्रवक्ता राजु महर्जनले महानगरबासीको स्वास्थ्यप्रति महानगर संवेदनशील भएको बताउँदै प्रिमियम तिर्ने महानगर पहिलो स्थानीय तह भएको दाबी गर्नुभयो ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक रवि शाक्यले स्वास्थ्य बीमा कार्यक्रममा समेटिएका नागरिकको ४० प्रतिशत प्रिमियम तिर्ने निर्णय महत्वपूर्ण निर्णय भएको बताउनुभयो । ललितपुर महानगर पाटन अस्पतालको अभिभावक भएको बताउँदै पाटन अस्पतालको उतारचढाव र कठिनाईमा संगसँगै भएको बताउनुभयो ।

राष्ट्रिय बीमा बोर्डका रघुराज काफ्लेले बीमा कार्यक्रमभित्र समेटिएका नागरिकको ४० प्रतिशत बीमा गरेर महानगर आफ्ना नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएको प्रमाणित गरेको बताउनुभयो । उहाँले भन्नुभयो,‘यो अन्य सात सय ५२ स्थानीय तहको लागि अनुकरणीण काम हो ।’

विभिन्न क्षेत्रमा बीमा कार्यक्रमलाई कमजोर बनाउन खोजिएपनि अब कसैले चाहेर पनि यो कार्यक्रम कमजोर हुन नसक्ने बताउनुभयो । बीमा कार्यक्रम भुइँ तहका नागरिकले स्वास्थ्य क्षेत्रमा प्राप्त गरेको महत्वपूर्ण उपलब्धि भएको उहाँले बताउनुभयो । बीमा कार्यक्रमका थुप्रै आरोह अवरोह भएको बताउँदै त्यसलाई पन्छाउँदै अघि बढेको उहाँले प्रष्ट पार्नुभयो ।

प्रकाशित मिति: १८ असार २०८२, बुधबार  १८ : २०  बजे