घण्टीमा भोट हाल्ने केन्द्रीय सदस्य खोज्दै नेकपा, प्रचण्डको चेतावनी— ‘आँखा चिम्लेर कारबाही गर्छौं’

काठमाडौं, ६ चैत्र ।नेपाली कम्युनिस्ट पार्टी ले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा आफ्नै उम्मेदवारलाई भोट नदिई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई समर्थन गर्ने नेता–कार्यकर्ताको खोजी तीव्र बनाएको छ।

पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय सदस्यसम्मबाट ‘घण्टी’ चुनाव चिह्नमा भोट गएको रिपोर्ट आएको भन्दै त्यस्ता व्यक्तिलाई कडा कारबाही गर्ने चेतावनी दिनुभएको छ।

पेरिसडाँडास्थित पार्टी कार्यालयमा आयोजित जनवर्गीय संगठनका नेताहरूको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले करिब ५० प्रतिशत भोट रास्वपातर्फ गएको ‘जनरल रिपोर्ट’ आएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “को–कोले भोट हालेनन्, को–को घण्टीतिर लागे—त्यसको ठोस विवरण ल्याउनुस्, हामी कारबाही गर्छौं।”

उहाँका अनुसार कारबाहीको सुरुवात केन्द्रीय सदस्यबाटै हुनेछ। “पार्टी बनाउन हो भने अनुशासन आवश्यक छ, त्यसैले आँखा चिम्लेर कारबाही गर्नुपर्ने अवस्था आएको छ,” प्रचण्डको भनाइ छ।

निर्वाचनमा अपेक्षाविपरीत कमजोर प्रदर्शन गरेको नेकपाले आन्तरिक समीक्षा सुरु गरिसकेको छ। प्रत्यक्षतर्फ रास्वपाले १२५ सिट जित्दा नेकपा मात्र ८ सिटमा सीमित भएको थियो।

प्रचण्डले पार्टी पुनर्गठनको प्रक्रिया पनि यहीँबाट सुरु हुने स्पष्ट पार्दै विचार, राजनीति र संगठनलाई अझ मजबुत बनाउने आवश्यकता औँल्याउनुभयो। उहाँले पार्टीभित्र चुनावका बेला निष्क्रिय रहने वा अन्यत्र भोट हाल्ने प्रवृत्तिलाई अन्त्य नगरेसम्म संगठन बलियो नहुने बताउनुभयो।

चुनावपछिको समीक्षा प्रतिवेदन संकलन भइरहेका छन्। प्रारम्भिक निष्कर्षअनुसार आफ्नै संगठित पंक्तिबाट अपेक्षित मत नपाउँदा हार व्यहोर्नुपरेको देखिएको पार्टी स्रोतले जनाएको छ।

प्रचण्डले रास्वपाको विजयलाई “हावाहुरी”को संज्ञा दिँदै दीर्घकालीन रूपमा विचार र राजनीतिक आधारमै कम्युनिस्ट शक्ति पुनः स्थापित हुने दाबीसमेत गर्नुभयो।

प्रकाशित मिति: ६ चैत्र २०८२, शुक्रबार  ११ : १०  बजे