अमेरिकालाई नेटोले छाड्दियो साथ, इरानसँगको युद्धमा एक्लिए ट्रम्प

काठमाडौं, ३ चैत । इरानमा खामेनीसहित ४० भन्दा बढी अधिकारीहरू मारिएपछि अमेरिकालाई यो युद्ध ठूलो सफलता जस्तो लागेको थियो । तर १७ दिनपछि अवस्था बदलिएको छ र युद्धको कुनै स्पष्ट अन्त्य देखिएको छैन । इरानले जवाफमा होर्मुज स्ट्रेटको बाटोबाट हुने तेल आपूर्ति रोकिदिएको छ ।

यसले विश्वको अर्थतन्त्रमा ठूलो चोट पुर्‍याएको छ। ट्रम्पले अहिले आफ्ना सहयोगी नेटो देशहरूसँग होर्मुजको बाटो खुलाउन अपिल गरिरहेका छन् । यद्यपि यी देशहरूले होर्मुज स्ट्रेटमा आफ्ना युद्धपोत नपठाउने स्पष्ट पारेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेटो देशहरूले यो महत्त्वपूर्ण समुद्री बाटो पुनः खुलाउन मद्दत नगरे नेटोको भविष्य नै खराब हुनसक्ने चेतावनी दिएकै बेला यो निर्णय आएको हो ।

जर्मनीको भनाइ : यो युरोपको युद्ध होइन

‘द गार्डियन’ को रिपोर्टअनुसार जर्मनीले कुनै पनि सैन्य कारबाहीमा भाग नलिने प्रस्ट पारेको छ । जर्मन चान्सलर फ्रेडरिक मर्जले यस विषयमा कहिल्यै कुनै निर्णय नभएकोले जर्मनीको सैन्य योगदानको प्रश्न नै नउठ्ने बताउनुभयो । इरानको वर्तमान सरकार अन्त्य हुनुपर्ने भए पनि बमबारी गरेर उसलाई झुकाउन खोज्नु सही तरिका नभएको उहाँले बताउनुभयो ।

जर्मनीका रक्षामन्त्री बोरिस पिस्टोरियसले पनि अमेरिकामाथि प्रश्न उठाउनुभयो । उहाँले भन्नुभयो,‘यो युरोपको युद्ध होइन र अमेरिकी नौसेना आफैँ यति शक्तिशाली हुँदा केही युरोपेली जहाजले के नै गर्न सक्छन् र ?’

बेलायतले के भन्यो ?

बेलायतका प्रधानमन्त्री कियर स्टार्मरले आफ्नो देश यो ठूलो युद्धमा नफस्ने बताउनुभयो । तेल बजारलाई स्थिर राख्न होर्मुज स्ट्रेट पुनः खुलाउनु आवश्यक रहेको तर यो सजिलो काम नभएको उहाँले स्वीकार गर्नुभयो । कुनै पनि कदम धेरैभन्दा धेरै देशहरूको सहमतिमा मात्रै उठाइने पनि उहाँले बताउनुभयो ।

युरोपेली देशहरूले सैन्य कारबाहीको सट्टा कूटनीतिमा जोड दिएका छन् । होर्मुज स्ट्रेट निकै महत्त्वपूर्ण छ किनभने यहाँबाट विश्वको करिब २० प्रतिशत तेल र ग्यास आपूर्ति हुन्छ, जुन हाल इरानका कारण प्रभावित भइरहेको छ ।

युद्धबाट होइन, वार्ताबाट समाधान निस्कियोस् : इटाली

इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले यस संकटको समाधान वार्ताबाटै निस्कनुपर्ने र आफ्नो देश कुनै पनि नौसैनिक मिसन बढाउने पक्षमा नरहेको बताउनुभयो । युरोपेली युनियनका हालका मिसनहरू समुद्री डकैती रोक्न र रक्षाका लागि मात्र रहेको भन्दै उहाँले तिनलाई युद्धमा बदल्न नसकिने प्रस्ट पार्नुभयो । अष्ट्रेलिया, फ्रान्स र जापानले पनि आफ्ना युद्धपोत नपठाउने स्पष्ट पारिसकेका छन् ।

ईयूले गर्यो ट्रम्पको अपिल अस्वीकार

ट्रम्पले लगातार आफ्ना सहयोगीहरूमाथि दबाब बनाइरहेका छन् । उहाँले भन्नुभयो,‘जुन देशहरूले यो समुद्री बाटोबाट फाइदा लिन्छन्, उनीहरूले यसको सुरक्षामा पनि हिस्सा लिनुपर्छ ।’ ट्रम्पले विशेषगरी बेलायतप्रति असन्तुष्टि जनाउनुभएको छ, यद्यपि ऊ यसमा सहभागी हुनेमा उहाँ आशावादी हुनुहुन्छ । युरोपेली युनियनका विदेशमन्त्रीहरूले पनि आफ्नो रेड सी मिसनलाई होर्मुजसम्म विस्तार गर्न अस्वीकार गर्नुभएको छ ।

युरोपेली युनियनकी विदेश नीति प्रमुख काजा कलासले हाल मिसनको दायरा बढाउने कुनै इच्छा नदेखिएको बताउनुभयो । युरोपेली देशहरू अमेरिका र इजरायलको युद्धको उद्देश्यबारे पनि स्पष्टता चाहन्छन् । एस्टोनियाका विदेशमन्त्रीले ट्रम्पको रणनीति के हो र अगाडिको योजना के हुनेछ भन्ने बुझ्न आवश्यक रहेको बताउनुभयो ।

इजरायलको दाबी : ३ साताका लागि युद्धको योजना तयार

यसैबीच इजरायलले इरानका तेहरान, शिराज र तब्रिज जस्ता कैयौं सहरहरूमा ठूलो मात्रामा आक्रमण गरेको छ । इजरायलले इरानका पूर्व सर्वोच्च नेता आयतोल्लाह अली खामेनीसँग जोडिएको एउटा विमान पनि नष्ट गरेको दाबी गरेको छ । इजरायली सेनाले आगामी ३ सातासम्म इरानसँग लड्नका लागि आफ्नो योजना तयार रहेको जनाएको छ ।

सेनाका प्रवक्ता नादभ शोसानीले सोमबार भन्नुभएको छ,‘सेनाले त्योभन्दा पछिको समयका लागि पनि छुट्टै योजनाहरू बनाएर राखेको छ ।’ इजरायली सेनाका अनुसार यस अभियानको उद्देश्य सीमित छ । उनीहरू इरानको त्यो क्षमतालाई कमजोर पार्न चाहन्छन् जसले इजरायलका लागि खतरा पैदा गर्न सक्छ ।

यसअन्तर्गत इरानको ब्यालिस्टिक मिसाइल संरचना, आणविक केन्द्रहरू र सुरक्षा संयन्त्रलाई निशाना बनाइँदैछ । इजरायली सेनाले इरानभित्र अझै पनि निशाना बनाउन सकिने हजारौं यस्ता स्थानहरू रहेको बताएको छ । यद्यपि, गत साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा अब ‘निशाना बनाउनका लागि लगभग केही पनि बाँकी नरहेको’ बताएका थिए ।

इरानको चेतावनी : अमेरिकी सेना आए परिणाम भोग्नुपर्नेछ

इरानका विदेशमन्त्री अब्बास अराघचीले आफ्नो देशले युद्ध नचाहेको तर यदि युद्ध सकिन्छ भने त्यो यसरी सकिनुपर्छ कि दुश्मनले फेरि आक्रमण गर्ने हिम्मत नगरोस् भनेका छन् । इरानका एक वरिष्ठ अधिकारीले अमेरिकालाई चेतावनी दिँदै भन्नुभयो,‘यदि अमेरिकी सेना जमिनमा ओर्लियो भने उसले भियतनाम जस्तै परिणाम भोग्नुपर्ने हुन सक्छ ।’

अमेरिकाले यस युद्धमा आफ्ना करिब २०० सैनिक घाइते भएको र जसमध्ये धेरैजसो ड्युटीमा फर्किसकेको बताएको छ भने १३ सैनिकको मृत्यु भइसकेको छ । एक रिपोर्टअनुसार इरानमा हालसम्म १,८०० भन्दा बढी मानिस मारिएका छन्, जसमा ठूलो संख्यामा सर्वसाधारण रहेका छन् ।

लेबनानमा इजरायलको स्थलगत आक्रमण

इजरायलले लेबनानको दक्षिणी भागमा स्थलगत कारबाही पनि बढाएको छ, जहाँ हिजबुल्लाहविरुद्ध अभियान चलिरहेको छ । यस द्वन्द्वमा लेबनानमा हालसम्म १०० भन्दा बढी बालबालिकासहित ८५० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । जर्मनीले लेबनानमा स्थलगत आक्रमण गर्नु गल्ती हुने र यसले त्यहाँको मानवीय अवस्थालाई अझ खराब बनाउने भन्दै इजरायललाई चेतावनी दिएको छ । एजेन्सी

प्रकाशित मिति: ३ चैत्र २०८२, मंगलबार  १९ : ११  बजे