हरिसिद्धीमा लुकाएको ६ हजार बढी फुल सिलिन्डर ग्यास निगमको रोहबरमा बिक्री गरिने

काठमाडौं, ३ चैत । बजारमा ग्यासको आपूर्ति सहज बनाउन ६ हजारभन्दा बढी पूर्ण रूपमा भरिएका ग्यास सिलिन्डर तत्काल बजारमा पठाइने भएको छ । वाणिज्य विभाग र नेपाल आयल निगमले गरेको संयुक्त अनुगमनका क्रममा श्रीराम ग्यास उद्योगको ललितपुरस्थित हरिसिद्धि गोदाममा मौज्दात रहेका ६ हजार ३ सय ७७ थान सिलिन्डरहरू बजारमा पठाउने निर्णय भएको हो ।

निगमको पछिल्लो निर्णय अनुसार उक्त गोदाममा रहेका सबै ६ हजार ३ सय ७७ थान भरिएका सिलिन्डरहरू विक्री गर्ने निर्णय भएको हो । हाल निगमले आधा मात्रै ग्यास विक्री गरिरहेको छ । तर, श्रीराम ग्यासको पहिले नै भरेको ६ हजारभन्दा धेरै सिलिन्डर पूर्णरुपमा भरिएका नै विक्री गर्ने भएको हो ।

सरकारले हाल अन्य ग्यासको हकमा आधा सिलिन्डर मात्र बिक्री गर्न निर्देशन दिए पनि श्रीराम ग्यासको हकमा भने गोदाममा पहिल्यै भरिएका सिलिन्डर रहेकाले ती सबै पुरा भरिएका नै बिक्री गर्न लागिएको हो । यी सिलिन्डरहरू श्रीराम ग्यास उद्योगका आधिकारिक डिलरहरू र निगमको टेकुस्थित कार्यालयबाट सिधै बिक्री गरिने व्यवस्था मिलाइएको छ ।

ग्यासको तौल र मूल्यमा कुनै अनियमितता नहोस् भन्नका लागि निगमले निगरानी राख्दै गुणस्तर जाँच गरेर मात्रै बजारमा पठाउन निर्देशन दिएको छ । यो व्यवस्थाले बजारमा देखिएको ग्यासको अभावलाई केही हदसम्म कम गर्ने र उपभोक्तालाई राहत पुग्ने अपेक्षा गरिएको छ । निगमले नयाँ सिलिन्डर बिक्री गर्न र अन्य कम्पनीका सिलिन्डरसँग साटफेर गर्न भने पूर्ण रूपमा रोक लगाएको छ ।

 

प्रकाशित मिति: ३ चैत्र २०८२, मंगलबार  १८ : ४७  बजे