काठमाडौं, ३ चैत्र । चर्चित गायक प्रकाश सपुत संसद् प्रवेशबाट वञ्चित हुनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक उम्मेदवार बन्नुभएका उहाँ अन्तिम सूचीमा समावेश हुन नसक्दा सांसद बन्ने सम्भावना टरेको हो।
फागुन २१ को निर्वाचनपछि रास्वपा मुलुककै ठूलो दल बनेसँगै उहाँको संसद् यात्रा लगभग निश्चितजस्तै देखिएको थियो। उहाँ दलित क्लस्टरको दोस्रो नम्बरमा बन्दसूचीमा रहनुभएको थियो। तर संविधानअनुसार कम्तीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने प्रावधानका कारण अन्तिम सूची सच्याउँदा केही पुरुष उम्मेदवार हटाउनुपरेको थियो, जसमा उहाँको नाम पनि परेन।
निर्वाचन आयोगले रास्वपाले बुझाएको अन्तिम सूचीलाई सदर गरेसँगै उहाँको संसद् यात्रा यहीँ टुंगिएको छ।
नफापेको राजनीतिक यात्रा
सामाजिक सन्देशमूलक गीतमार्फत पहिचान बनाउनु भएका उहाँ माघ पहिलो साता रास्वपा प्रवेश गर्नुभएको थियो। राजनीतिमा प्रवेश गर्नुको उद्देश्य “अस्थिरताको अन्त्य र समृद्ध नेपाल निर्माण” रहेको उहाँले बताउनुभएको थियो।
तर, कलाकारितामा केही समयदेखि आएको ओरालो अवस्थाबीच उहाँ राजनीतिमा प्रवेश गर्नुभएको भन्दै विभिन्न टिप्पणीहरू पनि भएका थिए। फिल्म क्षेत्रमा अपेक्षित सफलता हासिल हुन नसकेपछि उहाँ पुनः गायन क्षेत्रमा फर्किनुभएको छ।
विवाद र आलोचनाको प्रभाव
यसअघि केपी शर्मा ओली को प्रशंसा गर्नुभएको विषयले पनि उहाँ आलोचनामा पर्नुभएको थियो। सो अभिव्यक्तिपछि सामाजिक सञ्जालमा उहाँमाथि विभिन्न आरोपहरू लागेका थिए। उहाँले भने आफू कुनै दल विशेषको कार्यकर्ता नरहेको स्पष्ट पार्दै आउनुभएको छ।
अबको बाटो
सांसद बन्ने सपना अधुरै रहेपछि उहाँ पुनः सांगीतिक क्षेत्रमा सक्रिय हुन थाल्नुभएको छ। आगामी मार्च अन्त्यतिर आयरल्यान्डमा हुने कन्सर्टमा उहाँ सहभागी हुन लाग्नुभएको छ।
राजनीतिमा अपेक्षित सफलता प्राप्त गर्न नसक्नुभए पनि रास्वपाको अभियानमा सक्रिय रहनुभएका उहाँ अहिले पार्टीभित्र कार्यकर्ताकै भूमिकामा सीमित हुनुभएको छ। अब उहाँको सांगीतिक यात्राले पुनः गति लिने अपेक्षा गरिएको छ।







प्रतिक्रिया