काठमाडौं, ३ चैत्र । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १२औँ विश्व सम्मेलन तथा बृहत् अन्तरराष्ट्रिय एकता महाधिवेशन काठमाण्डौमा सम्पन्न भएको छ । ‘हाम्रो एकता, समृद्धिको आधार’ भन्ने मूल नारासहित गएको फागुन ३० गतेदेखि शुरु भएको सम्मेलनले नेपालको विकासमा प्रवासी नेपालीको लगानी, श्रमिक अधिकार र संस्थागत एकतालाई प्राथमिकतामा राख्दै १२ बुँदे घोषणापत्र जारी गरेको छ ।
सम्मेलनले नेपालमा गैरआवासीय नेपालीहरूको लगानी भित्र्याउन कानुनी तथा नीतिगत सुधार गर्दै सहज वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ । त्यस्तै रोजगारी सिर्जना, उद्यमशीलता विकास तथा भौतिक पूर्वाधार निर्माणमा प्रवासी नेपालीको लगानीलाई प्रोत्साहन गर्ने प्रतिबद्धता पनि जनाएको छ ।
घोषणापत्रमा गैरआवासीय नेपालीको लगानी व्यवस्थापनका लागि छुट्टै निकाय स्थापना, बैंक खाता खोल्ने र लगानी फिर्ता लैजान सहज व्यवस्था गर्न सम्बन्धित ऐन तथा नियमावली संशोधन गर्न सरकारसँग माग गरिएको छ ।
त्यस्तै सम्मेलनले मध्यपूर्वको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै सङ्कटमा परेका नेपालीको उद्धार, राहत र पुनःस्थापनामा नेपाल सरकार तथा अन्तरराष्ट्रिय निकायसँग सहकार्य सुदृढ गर्ने जनाएको छ ।
विश्वका विभिन्न देशमा कार्यरत नेपाली श्रमिकहरूको सुरक्षा, अधिकार र सम्मानजनक रोजगारी सुनिश्चित गर्न सम्बन्धित देश, अन्तरराष्ट्रिय संस्था तथा नेपाल सरकारसँग सहकार्य गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ ।
जलविद्युत्, कृषि, पर्यटन, सूचना प्रविधि तथा नवप्रवर्तनमूलक उद्योगमा गैरआवासीय नेपालीको लगानी प्रवद्र्धन गर्दै लगानीमैत्री वातावरण निर्माणका लागि नेपाल सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ । सम्मेलनमा चार हजार २ सय ८६ प्रतिनिधि सहभागी भएका थिए ।








प्रतिक्रिया