काठमाडौं, २ चैत । नेकपा एमालेका प्रदेश तथा जिल्ला अध्यक्षहरूसँग भर्चुअल जुम बैठक सुरु भएको छ । बैठकलाई सम्बोधन गर्दै महासचिव शंकर पोखरेलले पछिल्लो मत परिणामबारे टिप्पणी गर्दै लोकप्रियतावाद र अराजकतावादको जगमा नयाँ शक्ति उदाएको दाबी गर्नुभएको छ ।
उहाँले विशेषगरी रास्वपालाई संकेत गर्दै यस्तो टिप्पणी गर्नुभएको हो । पोखरेलले रास्वपाभित्र लोकप्रियतावादी र अवसरवादीहरूको गठजोड रहेको दाबी गर्दै त्यस्ता शक्तिहरूसँग राष्ट्र र राष्ट्रियताप्रति स्पष्ट विचार, सिद्धान्त तथा दीर्घकालीन राजनीतिक दृष्टि नभएको टिप्पणी गर्नुभयो ।
उहाँका अनुसार यस्ता शक्तिहरू छिटो लोकप्रियता कमाउने र तत्काल परिणाम दिने वाचा गर्दै अघि बढ्ने तर व्यवहारमा परिणाम दिन नसक्ने अवस्था आउनेछ । उहाँले अध्यक्ष केपी शर्मा ओली, एमालेविरुद्ध नयाँ र पुरानो अनुहार भन्ने नारामा आधारित प्रचार गरेर जनतालाई भ्रमित पारिएको बताउनुभयो ।
यस्तो प्रचार शैली डिजिटल माध्यमको प्रयोगमार्फत फैलाइएको लोकप्रियतावादकै एउटा रूप भएको उहाँको भनाइ छ । महासचिव पोखरेलले जनताले दिएको मतको परिणामलाई एमालेले सम्मान गर्ने स्पष्ट गर्दै आम मतदाताले एमालेसँग सम्बन्ध विच्छेद नगरेको दाबी गर्नुभयो ।
उहाँले हरेक समाज र घरमा एमालेको उपस्थिति रहेको उल्लेख गर्दै पार्टीले अब थप नयाँ ढंगले संगठन निर्माण र परिचालनलाई तीव्र बनाउने बताउनुभयो । पोखरेलले अल्पकालीन लोकप्रियताका आधारमा अघि बढेका शक्तिहरूले अपेक्षित परिणाम दिन नसकेपछि अन्ततः जनताले स्थिर विचार र संगठित शक्ति भएको एमालेतर्फ नै फर्किने विश्वास व्यक्त गर्नुभयो ।







प्रतिक्रिया