नाबालक छोराछोरी लिएर महिला बेपत्ता, भेरी नदी किनारमा भेटियो चप्पल र मोबाइल

सुर्खेत, २ चैत । एक महिला दुई छोराछोरीसहित सम्पर्कविहीन भएकी छन् ।

सुर्खेतको गुर्भाकोट नगरपालिका–१२ पिप्लेकी ३८ वर्षीया माया कठायत, ११ वर्षीया छोरी आशा र ५ वर्षीय छोरा दीपकसहित हिजो बिहान करिब ७ बजेदेखि बेपत्ता भएकी हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी मोहनजंग बुढ्थापाका अनुसार मायाका श्रीमान् भूपेन्द्रले श्रीमती र केटाकेटीसहित बेपत्ता भएको बेलुकी प्रहरी चौकी गुमीमा खबर गराएका थिए ।

प्रहरी वरिष्ठ हवल्दार गोपाल गुरुङको कमाण्डमा खटिएको टोली र स्थानीयले खोजतलास गर्ने क्रममा घरदेखि करिब ३ किलोमिटर टाढा भेरी नदी किनारमा मायाले प्रयोग गरेको झोला, सल, चप्पल र मोबाइल फेला पारेका छन् ।

उनीहरू नदीमा हाम फालेको हुनसक्ने प्रहरीको आशंका छ । नदी आसपास क्षेत्रमा ३५ जना प्रहरी र स्थानीयले खोजिरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति: २ चैत्र २०८२, सोमबार  १४ : २८  बजे