कार्कीको कदम विवादमा: आफ्नै सचिवलाई महत्वपूर्ण कोषको अध्यक्ष

काठमाडौं, चैत १। सुशीला कार्की नेतृत्वको सरकारले महत्वपूर्ण सार्वजनिक संस्थामा गरिएको नयाँ नियुक्तिले राजनीतिक तथा प्रशासनिक वृत्तमा चर्चा सुरु भएको छ। प्रधानमन्त्री कार्कीले राष्ट्रिय प्रकृति संरक्षण कोष को अध्यक्ष पदमा आफ्नै प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई मनोनयन गर्नुभएको हो।

प्रधानमन्त्री तथा कोषकी संरक्षकसमेत रहनुभएकी कार्कीले श्रेष्ठलाई आगामी पाँच वर्षका लागि अध्यक्ष पदमा नियुक्त गर्नुभएको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले दिनुभएको छ। यसअघि अध्यक्ष रहनुभएका ऐनबहादुर शाहीले राजीनामा दिएपछि सो पद रिक्त रहेको थियो।

राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन २०३९ अनुसार कोषको संरक्षक प्रधानमन्त्री रहने र संरक्षकले अध्यक्ष मनोनयन गर्न सक्ने व्यवस्था छ। सोही प्रावधानअनुसार सिन्धुली निवासी श्रेष्ठलाई अध्यक्ष पदमा जिम्मेवारी दिइएको हो।

प्रधानमन्त्री नियुक्त हुनासाथ कार्कीले सर्वोच्च अदालतको सूचना प्रविधि महाशाखामा कार्यरत नायब सुब्बा (नासु) श्रेष्ठलाई प्रमुख स्वकीय सचिव नियुक्त गर्नुभएको थियो। कार्की प्रधानन्यायाधीश रहनुहुँदा श्रेष्ठले पेशी व्यवस्थापनको जिम्मेवारी सम्हाल्नुभएको थियो।

पुरानै चिनजान र विश्वासका आधारमा उहाँलाई प्रमुख स्वकीय सचिव बनाइएपछि चौथो दिनमै श्रेष्ठले आफ्नी श्रीमती संगीता श्रेष्ठलाई प्रधानमन्त्रीको स्वकीय सहसचिवका रूपमा नियुक्त गर्नुभएको थियो, जसमा सहसचिवसरह सेवा–सुविधा रहेको थियो। उक्त निर्णय सार्वजनिक भएपछि विभिन्न पक्षबाट आलोचना भएको थियो।

पछि आलोचना बढेपछि प्रधानमन्त्री कार्कीले सचिवालयको संख्या घटाएर ६ जनामा सीमित गर्नुभएको थियो। तर आफ्नै स्वकीय सचिवलाई राष्ट्रिय प्रकृति संरक्षण कोषजस्तो महत्वपूर्ण संस्थाको अध्यक्ष बनाउने निर्णयले फेरि नैतिकता र पारदर्शिताको विषयमा बहस चर्किएको छ।

प्रकाशित मिति: १ चैत्र २०८२, आइतबार  २० : ४०  बजे