हेटौंडा, २८ फागुन । बागमती प्रदेशकै प्रतिष्ठित शैक्षिक संस्थाका रूपमा स्थापित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रमलाई व्यवस्थित बनाउन हेटौंडामा अत्याधुनिक प्रिफ्याब भवन निर्माण सुरु गरिएको छ । हेटौंडा उपमहानगरपालिका–१० स्थित टिसिएन क्षेत्रमा आज एक विशेष समारोहका बिच भवनको शिलान्यास गरिएको हो ।
कुल ८ करोड ६१ लाख १७ हजार ९ सय १ रुपैयाँ लागतमा निर्माण हुन लागेको उक्त भवनको ठेक्का सम्झौता पश्चात् निर्माण कार्य अघि बढाइएको छ। भवनको शिलान्यास गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले निर्धारित समयभित्रै गुणस्तरीय काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो ।
उहाँले समयमै काम सकेर सरकारबाट ‘बोनस’ समेत लिन निर्माण पक्षलाई आग्रह गर्नुभएको छ । निर्माण शुभारम्भ कार्यक्रममा प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा, स्वास्थ्य मन्त्री किरण थापा र प्रदेशसभा सदस्य एका लाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
यस्तै, प्रतिष्ठानका उपकुलपति डा. प्रदिप ज्ञवाली र रजिष्ट्रार भिम सागर गुरागाईले भवन निर्माणले शैक्षिक गतिविधिमा ल्याउने सहजताबारे प्रकाश पार्नुभएको थियो । हाल आफ्ना शैक्षिक कार्यक्रमहरू भाडाका कोठाबाट सञ्चालन गर्न बाध्य प्रतिष्ठानले यो भवन बनेपछि ठुलो राहत पाउने अपेक्षा गरिएको छ ।
आधुनिक संरचनामा बन्ने यस भवनमा अत्याधुनिक कक्षाकोठाहरू, प्रशासनिक ब्लक, सुविधायुक्त प्रयोगशालाहरू रहनेछन् । प्रदेश सरकारले यस प्रतिष्ठानलाई स्वास्थ्य क्षेत्रको उच्च शिक्षाको केन्द्र (हब) का रूपमा विकास गर्ने लक्ष्य राखेको छ ।
आगामी असार १५ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको यस प्रिफ्याब भवनले दक्ष स्वास्थ्य जनशक्ति उत्पादनमा थप इँटा थप्ने विश्वास गरिएको छ । प्रदेश सरकारका सम्बन्धित निकायहरूले यसको निर्माण कार्यको नियमित अनुगमन गर्ने समेत प्रतिबद्धता जनाएका छन् ।
यसैबिच, हेटौंडा अस्पतालमा निर्माण सम्पन्न भएको आधुनिक भवनको पनि आज औपचारिक उद्घाटन गरिएको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले आज आयोजित कार्यक्रममा भवन उद्घाटन गर्दै अब अस्पतालको सेवा थप विस्तार गर्दै तत्काल सञ्चालनमा ल्याउने लक्ष्य रहेको बताउनुभयो ।
करिब २८ करोड ५४ लाख ६३ हजार रुपैयाँ लागतमा निर्माण गरिएको तीन वटा ब्लकको आधुनिक भवन निर्माण कार्य पूरा भएसँगै अस्पतालले सेवा विस्तारको तयारी थालेको छ । नयाँ संरचना सञ्चालनमा आएपछि अस्पतालमा २ सय नयाँ बेड थपिने र स्वास्थ्य सेवा थप व्यवस्थित हुने अपेक्षा समेत गरिएको छ ।









प्रतिक्रिया