बागलुङ, २८ फागुन । बागलुङको ढोरपाटन क्षेत्रमा फैलिएको दादुरा संक्रमणलाई थप विस्तार हुन नदिन स्वास्थ्य कार्यालयले वृहत् खोप अभियान सुरु गर्ने भएको छ। ढोरपाटन नगरपालिकाका वडा नं. ७, ८ र ९ मा संक्रमण तीव्र देखिएपछि १० देखि १९ वर्ष उमेर समूहका ६ हजार ७ सय ६३ बालबालिका तथा किशोर(किशोरीलाई खोप लगाउने तयारी गरिएको हो ।
स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य प्रशासक प्रविण शर्माका अनुसार, यो विशेष खोप अभियान आगामी फागुन २९ गतेदेखि चैत १ गतेसम्म सञ्चालन हुनेछ । संक्रमणको जोखिममा रहेका किशोर–किशोरीका साथै उपचारमा प्रत्यक्ष संलग्न २ सय ३७ जना स्वास्थ्यकर्मीलाई समेत दादुरा विरुद्धको खोप प्रदान गरिनेछ ।
७४ जनामा संक्रमणको शंका, ७ जना उपचाररत
ढोरपाटन क्षेत्रमा हालसम्म ७४ जनामा दादुराको शंकास्पद लक्षण देखिएको छ । तीमध्ये ३२ जना अस्पताल भर्ना भई उपचारपश्चात् घर फर्किसकेका छन् भने ७ जना बालबालिकाको अझै उपचार भइरहेको छ। फागुन ८ गते पहिलो पटक एक जनामा संक्रमण पुष्टि भएको थियो, जसलगत्तै अन्य ५ जनामा पनि प्रयोगशाला परीक्षणबाट दादुरा प्रमाणित भएको थियो ।
संक्रमितहरूको उपचारका लागि ढोरपाटन–८ स्थित बोबाङ स्वास्थ्य चौकीमा छुट्टै आइसोलेसन वार्ड तयार गरिएको छ । यस्तै, बुर्तिबाङ अस्पतालमा ३० बेडको विशेष व्यवस्थासहित औषधि र आवश्यक सामग्री गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको छ ।
जनशक्ति व्यवस्थापन र गाउँमै नमुना संकलन
खोप अभियानलाई प्रभावकारी बनाउन ढोरपाटनका सबै स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ । जनशक्ति अपुग भएपछि छिमेकी बडिगाड र निसीखोला गाउँपालिकाबाट समेत स्वास्थ्यकर्मीहरू खटाइएको छ । स्वास्थ्य टोलीले हाल गाउँ–गाउँमै पुगेर शंकास्पद बिरामीको नमुना संकलन र परीक्षण गरिरहेको छ ।
जनस्वास्थ्य प्रमुख शर्माले भन्नुभयो,‘हामीले संक्रमितको खोजतलास र उपचारलाई तीव्रता दिएका छौँ, खोप अभियानपछि संक्रमण पूर्ण नियन्त्रणमा आउने अपेक्षा छ ।’
सन् २०२६ सम्म दादुरा निवारण गर्ने लक्ष्य
नेपाल सरकारले सन् २०२६ सम्ममा दादुरा-रुबेलालाई ‘जनस्वास्थ्य समस्या’ का रूपमा नरहने गरी निवारण गर्ने लक्ष्य राखेको छ । ढोरपाटनको यो सक्रियतालाई सोही राष्ट्रिय अभियानको हिस्साका रूपमा हेरिएको छ । बागलुङमा यसअघि सन् २०२२ मा गलकोटमा र सन् २०२४ मा निसीखोलामा एक–एक जनामा दादुरा देखिएको थियो ।
हावाबाट सर्ने र छिटो फैलिने प्रकृतिको यो रोगबाट बच्न खोप नै सबैभन्दा अचुक उपाय भएकाले १० देखि १९ वर्षका सबैलाई अभियानमा सहभागी हुन स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।









प्रतिक्रिया