पोखरा, २८ फागुन । नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको निधन भएको छ । एमालेका केन्द्रीय सदस्य थापाको ६६ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको हो । उहाँलाई हृदयघात भएर पोखराको मणिपाल शिक्षण अस्पतालमा लगिएको थियो ।
अस्पतालमा भर्ना गरिएको थापाको निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ । कास्की कमिटीले आज चुनावी समीक्षा बैठक डाकेको थियो र थापा बैठकमा बोल्दाबोल्दै ढल्नुभएको थियो । उहाँ २०५४ सालमा पोखराको मेयर निर्वाचित हुनुभएको थियो ।
२०७४ सालमा उहाँ गण्डकी प्रदेश सभा सदस्य हुनुहुन्थ्यो भने २०७९ मा उहाँ पोखराको मेयर पदको निर्वाचनमा पराजित हुनुभएको थियो । यसपटकको चुनावमा पनि थापाले नै टिकट प्राप्त गर्नुभएको थियो । तर, पछि त्यही टिकट रश्मी आचार्यलाई दिइएको थियो ।
कास्की जिल्ला कमिटीका पूर्वअध्यक्ष थापा जेनजी आन्दोलन पछिको एमालेको महाधिवेशनमा पनि केन्द्रीय सदस्य बन्नुभएको थियो । पारिवारिक स्रोतका अनुसार उहाँका छोरा वैदेशिक रोजगारीका सिलसिलामा नेपालबाहिर रहनुभएकाले अन्त्येष्टिको निर्णय उहाँ आएपछि गरिनेछ ।









प्रतिक्रिया