काठमाडौं, २६ फागुन । झापाको बिर्तामोडस्थित बी एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर को व्यापारमा पछिल्लो वर्ष उल्लेख्य सुधार देखिएको छ । तर, आम्दानी बढे पनि कम्पनीको वित्तीय संरचना र ऋणको भार भने अझै चुनौतीपूर्ण अवस्थामा रहेको देखिएको छ ।
आर्थिक वर्ष २०२५ मा कम्पनीको सञ्चालन आम्दानी १ अर्ब २६ करोड ६० लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब ३७ प्रतिशतको वृद्धि हो । सन् २०२४ मा कम्पनीले ९२ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो । मेडिकल कलेजको शैक्षिक कार्यक्रम पूर्ण रूपमा सञ्चालनमा आउनु र अस्पतालमा बिरामीको चाप बढ्नुले आम्दानीमा सुधार ल्याएको हो ।
पछिल्लो समय स्वास्थ्य क्षेत्रमा बढेको लागत र क्षमता विस्तारका कारण कम्पनीको सञ्चालन नाफा मार्जिनमा भने केही संकुचन देखिएको छ । सन् २०२४ मा २६.६९ प्रतिशत रहेको यस्तो मार्जिन सन् २०२५ मा घटेर २२.८३ प्रतिशत कायम भएको छ । नाफा मार्जिनमा केही गिरावट आए पनि ‘ग्रस क्यास एक्रुअल्स’ धनात्मक हुनुले कम्पनीको नगद प्रवाहमा स्थिरता आउन थालेको संकेत गर्दछ ।
कम्पनीको वित्तीय जोखिम प्रोफाइल र पुँजीगत संरचना भने अझै पनि ऋणमा आधारित देखिएको छ । सन् २०२५ सम्ममा कम्पनीको कुल ऋण बढेर ३ अर्ब ९० करोड ९० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो ऋण ३ अर्ब ६६ करोड ७० लाख रुपैयाँ रहेको थियो ।
शैक्षिक पूर्वाधार र होस्टेल निर्माणका लागि लिइएको थप ऋणका कारण कम्पनीको वित्तीय भार बढेको रिपोर्टमा उल्लेख छ । ब्याज तिर्ने क्षमताका आधारमा भने कम्पनीमा क्रमिक सुधार देखिएको छ । सन् २०२५ मा कम्पनीको ब्याज कभरेज अनुपात १।१० गुणा पुगेको छ, जुन सन् २०२४ मा १ भन्दा तल (०.७१ गुणा) मात्र थियो ।
प्रभावकारी ब्याजदरमा भएको केही कमीले कम्पनीलाई ब्याज भुक्तानीमा केही राहत मिलेको हो । कम्पनीले हाल कुल ४ अर्ब ४ करोड ७६ लाख ८० हजार रुपैयाँ बराबरको बैंक कर्जा सुविधाका लागि रेटिङ गराएको छ । केयर रेटिङ्स नेपालले कम्पनीको दीर्घकालीन कर्जालाई ‘केयर-एनपी बी प्लस’ र अल्पकालीन कर्जालाई ‘केयर-एनपी ए फोर’ रेटिङ प्रदान गरेको छ ।
यो रेटिङले कम्पनीको वित्तीय अवस्थामा जोखिमको मात्रा रहेको र ऋण तिर्ने क्षमता मध्यम स्तरको रहेको जनाउँछ । व्यापारमा सुधार आए पनि स्वास्थ्य क्षेत्रमा देखिएको तीव्र प्रतिस्पर्धा र दक्ष जनशक्ति टिकाउनु पर्ने चुनौती कम्पनीका लागि प्रमुख समस्या हुन् ।
साथै, एकल अस्पतालमा आधारित व्यवसाय भएकाले नियामक परिवर्तन र आर्थिक उतारचढावको जोखिम उच्च देखिन्छ । चलायमान ब्याजदरका कारण वित्तीय लागतमा हुने फेरबदल कम्पनीका लागि अर्को मुख्य चुनौती हो ।
सन् २०११ मा स्थापना भई पूर्वाञ्चल क्षेत्रमा स्वास्थ्य सेवा र शैक्षिक सेवा प्रदान गर्दै आएको यस कलेजलाई डा. राम बाबु गिरी र व्यवसायी दुर्गा प्रसाईं लगायतको अनुभवी प्रवर्द्धक समूहले नेतृत्व गरिरहेको छ । स्थापित ब्रान्ड र मेडिकल कलेजको बढ्दो उपस्थितिले आगामी दिनमा व्यवसाय विस्तार गर्न थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।









प्रतिक्रिया