नवयुवा आन्दाेलन : ‘जाँचबुझ आयाेगकाे प्रतिवेदनकाे निचाेड यही सरकारले सार्वजनिक गर्छ’ – प्रधानमन्त्री

काठमाडौं, २४ फागुन ।  गएको भदौमा भएको नवयुवा आन्दोलनमा भएका घटनाक्रम र सरकारी पक्षबाट भएको भनिएको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले प्रधानमन्त्रीलाई आफ्नो प्रतिवेदन बुझाएको छ ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा रहेको आयोगका पदाधिकारीहरूले सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर आज प्रतिवेदन बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिनुभयो ।

रावलका अनुसार प्रतिवेदन बुझ्दै प्रधानमन्त्री कार्कीले अध्ययन गरेर आवश्यक प्रक्रिया अघि बढाउने बताउनुभएको छ । प्रतिवेदनको निचोड यही सरकारले सार्वजनिक गर्ने उहाँको भनाइ छ ।

प्रतिवेदन बुझाउने क्रममा आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आफूहरूले इमानदारीका साथ काम गरेको र कुनै पूर्वाग्रह नराखी जे देख्यो त्यही कुरा प्रतिवेदनमा राखेको बताउनुभएको रावलले जानकारी दिनुभयो । प्रतिवेदनमा भविष्यमा यस्तो घटना नहोस् भनेर सुझाव पनि राखिएको उहाँले बताउनुभयो ।

गएको भदौ २३ र २४ गतेका घटनाको मानवीय र भौतिक क्षतिको छानबिनका लागि असोज ५ गते गठन भएकाे आयोगको तेस्रो पटक थपिएको म्याद सकिनुभन्दा एक दिनअघि आयोगले प्रतिवेदन बुझाएको हो ।

विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा गठित उच्चस्तरीय आयोगका सदस्यमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानूनविद् विश्वेश्वर भण्डारी सदस्य रहनुभएको छ ।

भदौ २३ र २४ गते भएका घटनामा ७६ जनाको ज्यान जानुका साथै सयौँ मानिसहरू घाइते भएका थिए । सरकारकै प्रतिवेदनअनुसार आन्दोलनमा ८४ अर्ब रुपैयाँभन्दा धेरै मूल्य बराबरको भौतिक क्षति पुगेको थियो ।

अघिल्लो दिन सुरक्षाकर्मीहरूको कारबाहीमा परेर युवा प्रदर्शनकारीहरूको ज्यान गएपछि भदौ २४ गते आन्दोलनले उग्र रूप लिएको थियो । त्यस क्रममा कैयौँ सरकारी कार्यालय, व्यापारिक प्रतिष्ठान तथा निजी घर र सम्पत्तिमा आक्रमण, लुटपाट र आगजनीका घटनाहरू भएका थिए ।

प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार  २० : १०  बजे