इरानमा अमेरिकाको ‘ठूलो सैन्य कारबाही’ जारी छ : ट्रम्प

काठमाडौं, १९ फागुन ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी शासनले खडा गरेका खतराहरूलाई निर्मूल पार्न अमेरिकाले इरानमा ठूलो लडाइँ जारी राखेको बताएका छन् । उनले इरानले अमेरिकी चेतावनीहरूलाई बेवास्ता गरेको र आफ्नो आणविक हतियारको खोजी रोक्न अस्वीकार गरेको बताएका छन् ।

अमेरिकी राष्ट्रपतिले इरानको क्षेप्यास्त्र कार्यक्रम आणविक हतियार विकासलाई संरक्षण गर्ने उद्देश्यले बनाइएको आरोप लगाए ।ट्रम्पले यो कार्य रोक्न चाहने देश अमेरिका भए पनि सबै उनको समर्थनमा रहेको बताए । उनले आणविक हतियार र लामो दूरीका क्षेप्यास्त्रहरूले सुसज्जित इरानी शासन मध्यपूर्वका साथै अमेरिकी जनताका लागि पनि असह्य खतरा हुने बताए ।यो युद्ध सुरु गर्ने निर्णय लिनुको कारणबारे ट्रम्पले इरानी शासनले खडा गरेका असह्य खतराहरूलाई हटाउनु रहेको बताएका छन् ।

यो प्रहार गर्ने अन्तिम र सबैभन्दा उत्तम मौका भएको उनको भनाइ छ । ट्रम्पले इरानमा भइरहेको यस अभियानका उद्देश्य इरानलाई कहिल्यै आणविक हतियार प्राप्त गर्न नदिने मात्र नभई इरानको क्षेप्यास्त्र क्षमता नष्ट गर्ने र उनीहरूको नौसेनालाई सखाप पार्ने रहेको बताए । इरानले अब आफ्नो सिमाना बाहिरका आतंकवादी सेनाहरूलाई हतियार दिने, आर्थिक सहयोग गर्ने र निर्देशन दिने कार्य जारी राख्न नसक्ने ट्रम्पको भनाइ छ ।

प्रकाशित मिति: १९ फाल्गुन २०८२, मंगलबार  ०८ : १८  बजे