पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या छैन : निगम

काठमाडौं, १८ फागुन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको सहज आयात र बिक्रीरवितरण भइरहेको बताएको छ । पेट्रोल पम्पहरूमा लामो लाइन लागिरहेको अवस्थामा निगमले आयात नियमित भइरहेको भन्दै अनावश्यक भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरेको छ ।

निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले चुनावको समयमा पनि पर्याप्त मात्रामा पेट्रोलियम पदार्थको आयात जारी रहने भएकोले भण्डारण गर्न आवश्यक नरहेको बताउनुभयो ।

घरमा पेट्रोलियम पदार्थ भण्डारण गर्दा जोखिम बढ्ने भन्दै उहाँले सचेत गराउनुभएको छ । सम्भावित आगलागीजन्य दुर्घटनाको जोखिम घटाउन आवश्यक परिमाणमा मात्र पेट्रोलियम पदार्थ खरिद गर्न निगमको आग्रह छ ।

यस्तै कतिपयले मध्यपूर्वको सङ्कटका कारण पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या आउने अनुमान गरेका छन् । तर अहिले नै त्यो अवस्था नरहेको निगमको भनाइ छ ।

नेपाल पेट्रोलिम पदार्थमा भारतमा पूर्ण निर्भर छ । नेपालको वार्षिक खपत भारतको एक दिनको खपत बराबर मात्रै रहेकोले भारतको आपूर्ति शृङ्खलामा तत्काल समस्या देखिँदैन । यस्तै भारतले हरेक १५ दिनमा नयाँ मूल्यसूची पठाउँछ । अबको १५ दिनको मूल्यसूची आइसकेकोले तत्काल मूल्यवृद्धि हुने पनि देखिँदैन ।

विश्व बजारमा भने द्वन्द्व शुरुआतपछि कच्चा तेलको मूल्यमा १३ प्रतिशतसम्म वृद्धि भइसकेको छ ।

प्रकाशित मिति: १८ फाल्गुन २०८२, सोमबार  १९ : ४५  बजे