काठमाडौं, १७ फागुन । योगेश कुमार भट्टराईले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको विजयलाई राष्ट्रिय स्वाभिमानसँग प्रत्यक्ष जोडिएको विषय भएको बताउनुभएको छ।
झापा–५ अन्तर्गत कमल गाउँपालिका, गेउरियामा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उहाँले ओलीको जित केवल व्यक्तिगत वा दलगत विषय नभई देश र नेपाली जनताको सम्मानसँग सम्बन्धित रहेको दाबी गर्नुभयो।
उहाँले भन्नुभयो, “केपी शर्मा ओलीको विजय वा पराजय नेकपा एमालेसँग मात्र जोडिएको विषय होइन। उहाँको विजय वा पराजय देशको विजय वा पराजयसँग जोडिएको विषय हो। उहाँको विजय भनेको देशको स्वाभिमानलाई माथि उठाउने कुरा हो, राष्ट्रियतालाई सुदृढ बनाउने विषय हो।”
एक ढिक्का हुन आग्रह
उपमहासचिव भट्टराईले वर्तमान अवस्थामा पार्टीका आन्तरिक विषय उठाउने समय नभएको स्पष्ट पार्नुभयो। अहिलेको आवश्यकता सम्पूर्ण नेता–कार्यकर्ता एकताबद्ध भएर पार्टीलाई विजय गराउने रहेको उहाँले जोड दिनुभयो।
“कोही संगठन सञ्चालनको जिम्मेवारीमा हुनुहुन्छ, कोही संसदमा हुनुहुन्छ, कोही स्थानीय तहमा कार्यरत हुनुहुन्छ। सबैले आ–आफ्नो स्थानबाट जिम्मेवारी निर्वाह गर्नुपर्ने हुन्छ,” उहाँले भन्नुभयो।
झापा कम्युनिष्ट आन्दोलनको पवित्रभूमि
उहाँले नेपालका कम्युनिष्ट आन्दोलनका लागि झापा विशेष ऐतिहासिक र पवित्रभूमि रहेको उल्लेख गर्नुभयो। झापामा एमालेको विजय सिंगो कम्युनिष्ट आन्दोलनको जितसँग जोडिएको विषय भएको उहाँको भनाइ थियो।









प्रतिक्रिया