एमाले देश निर्माण र राष्ट्रियताको पक्षमा अडानमा : ईश्वर पोखरेल

काठमाडौं, १५ फागुन । ईश्वर पोखरेलले नेकपा एमालेले राष्ट्रियता, देशको सार्वभौमिकता, अखण्डता, स्वाधीनता र स्वाभिमानको पक्षमा दृढ अडान लिएको बताउनुभएको छ।

काठमाडौं–५ मा आयोजित चुनावी कार्यक्रममा बोल्दै उहाँले एमालेले सामाजिक सद्भावका मुद्दा र देशका बहुआयामिक विशेषताहरुलाई महत्व दिएको उल्लेख गर्नुभयो। “हाम्रो देश बहुजाति, बहुभाषा, बहुधर्म, बहुसंस्कृति र भौगोलिक विविधता भएको देश हो। यसलाई बिथोल्न खोज्ने प्रयास गलत हुन् र ती चिजलाई अन्त्य गर्नुपर्छ भन्ने हाम्रो अडान हो,” उहाँले भन्नुभयो।

पोखरेलले शिक्षा, स्वास्थ्य, रोजगारी, उत्पादन, स्वरोजगारी, सामाजिक सुरक्षा, कृषि, उद्योग, पूर्वाधार र ऊर्जा जस्ता विविध क्षेत्रमा एमालेले केन्द्रित नीति र विकास अभियान अगाडि बढाएको जानकारी दिनुभयो। “एमालेले देश बनाउन विशेष अभियान अन्तर्गत विकास निर्माणका कामलाई अगाडि बढाएको छ। केही काम अलपत्र परेका छन्, ती अब अघि बढाउनुपर्ने हाम्रो सङ्कल्प र अठोट छ,” उहाँले जोड दिनुभयो।

उहाँले ०८४ सालमा हुनुपर्ने निर्वाचन ०८२ मा सामान्य रूपमा हुन नपाएको उल्लेख गर्दै मुलुकको लोकतान्त्रिक र संवैधानिक प्रक्रियामा आएको अवरोधलाई सुधार गर्न आवश्यक रहेको बताउनुभयो। “यो निर्वाचनले प्रक्रियालाई ठिक ढंगले अघि बढाउने अवसर दिन्छ,” पोखरेलले भन्नुभयो।

साथै उहाँले देशको हित विपरीत हुने कामको सामना गर्न देशभक्त नागरिकलाई एकजुट हुन पनि आह्वान गर्नुभयो।

प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार  १६ : ०२  बजे