निर्वाचनपछि एमाले पहिलो शक्ति बन्छ, मुलुकको बागडोर सम्हाल्छ : विष्णु पौडेल

बुटवल, १४ फागुन  । विष्णु पौडेलले आगामी निर्वाचनपछि नेकपा एमाले देशकै पहिलो राजनीतिक शक्ति बन्ने र मुलुक सञ्चालनको नेतृत्व सम्हाल्ने दाबी गर्नुभएको छ।

नेकपा एमालेका उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहनुभएका उहाँले लुम्बिनी प्रदेशमा एमाले बहुमतसहितको पहिलो शक्ति बन्ने विश्वास व्यक्त गर्नुभयो।

बिहीबार बुटवलमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले फागुन २१ गतेको निर्वाचनपछि एमाले राष्ट्रिय राजनीतिको मियोका रूपमा स्थापित हुने बताउनुभयो। “निर्वाचनपछि एमाले मुलुक सञ्चालनको ड्राइभिङ सिटमा बस्नेछ भन्ने पूर्ण विश्वासका साथ हामी चुनावी अभियानमा होमिएका छौँ,” उहाँले भन्नुभयो।

पूर्वअर्थमन्त्रीसमेत रहनुभएका उहाँले एमालेले विगतदेखि नै जनपक्षीय काम गर्दै आएको र आगामी दिनमा पनि जनताकै हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। जनताले विगतका काम र अनुभवका आधारमा एमालेलाई मत दिने उहाँको दाबी छ।

रुपन्देही क्षेत्र नम्बर २ का मतदाताहरू एमालेप्रति सकारात्मक रहेको उल्लेख गर्दै उहाँले विभिन्न प्रकारका प्रक्षेपणहरू वास्तविकताभन्दा टाढा रहेको बताउनुभयो। “यहाँका मतदाताहरू एमालेले नै जित्नुपर्छ भन्ने मनोविज्ञानसहित अघि बढ्नुभएको छ। जतिसुकै षड्यन्त्र गरिए पनि जनताको सोच परिवर्तन गर्न सहज छैन,” उहाँले भन्नुभयो।

उहाँले रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा एमाले पहिलो शक्ति बन्ने दाबी दोहोर्‍याउनुभयो। विगतमा तुलनात्मक रूपमा कमजोर मानिएको क्षेत्र नम्बर ४ मा समेत अहिले उल्लेखनीय सुधार आएको उहाँको भनाइ थियो। “एमाले रुपन्देहीको सर्वाधिक बलियो र ठूलो शक्तिका रूपमा पुनः उदाउँदैछ,” उहाँले उल्लेख गर्नुभयो।

उहाँले रुपन्देहीमा सञ्चालन भइरहेका पूर्वाधार आयोजना समयमै सम्पन्न गर्न र सम्पन्न भइसकेका आयोजनाहरूको प्रभावकारी व्यवस्थापनका लागि एमालेको जित अपरिहार्य रहेको बताउनुभयो।

निर्माणाधीन बुटवल–नारायणगढ र बुटवल–गोरुसिङ्गे सडक आयोजना, सिद्धबाबा सुरुङ मार्ग, सिद्धार्थ राजमार्गको स्तरोन्नति तथा कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजना जस्ता परियोजनालाई प्राथमिकतामा राखिएको उहाँले जानकारी दिनुभयो।

सिद्धार्थ राजमार्ग स्तरोन्नतिपछि लुम्बिनी र गण्डकी प्रदेशका पर्यटकीय क्षेत्रहरू आपसमा जोडिने र त्यसबाट पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने उहाँको विश्वास छ। एमालेले रुपन्देही र सिङ्गो लुम्बिनी प्रदेशलाई नमूना प्रदेशका रूपमा विकास गर्ने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएको उहाँले स्पष्ट पार्नुभयो।

प्रकाशित मिति: १४ फाल्गुन २०८२, बिहिबार  २१ : १६  बजे