२४ गतेका आगजनीकर्तामाथि पनि कारबाही हुनुपर्छ : प्रचण्ड

काठमाडौं, १४ फागुन । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलनका नाममा आगजनी र लुटपाटमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याएर कारबाही गर्नुपर्ने बताउनुभएको छ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरूले राख्नुभएको प्रश्नको जवाफ दिँदै उहाँले भदौ २३ गते भएको हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकार सञ्चालन गरिरहेका दलहरूले लिनुपर्ने धारणा व्यक्त गर्नुभयो।

उहाँले भन्नुभयो, “२३ गते जुन नरसंहार भयो, त्यसका निम्ति तत्काल सरकारमा रहेका पार्टीहरू जिम्मेवार छन्। सरकारको नेतृत्व गरिरहनुभएका केपी शर्मा ओलीज्यू र त्यसबेला नेपाली कांग्रेसको नेतृत्व गरिरहनुभएका शेरबहादुर देउवाज्यूले जिम्मेवारी लिनुपर्छ। जिम्मेवारीबाट पन्छिनु उचित होइन।”

उहाँले आफूहरूले बारम्बार खबरदारी गर्दागर्दै पनि सरकार पक्षले गम्भीरता नदेखाएको आरोप लगाउनुभयो। घटनाले देशलाई दुर्घटनातर्फ धकेलेको उल्लेख गर्दै त्यसको नैतिक तथा राजनीतिक जिम्मेवारी सत्तारूढ दलहरूले वहन गर्नुपर्ने बताउनुभयो।

साथै, उहाँले भदौ २४ गते भएको आगजनी र लुटपाटका घटनामा संलग्न व्यक्तिहरूलाई पनि कारबाही गर्नुपर्ने स्पष्ट पार्नुभयो। “आन्दोलनको नाममा सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुर्‍याउने जो–कोहीलाई कानुनअनुसार कारबाही गरिनुपर्छ,” उहाँले भन्नुभयो।

संविधान, शान्ति सम्झौता र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने ऐतिहासिक प्रक्रियामा कांग्रेस र एमाले सहयात्री रहे पनि भदौ २३ गतेको घटनामा भने आफूहरू अलग धारमा रहेको उहाँको जिकिर थियो। “हिजोका सहयात्री भए पनि २३ गतेको घटनामा सहयात्री होइनन्। देशलाई दुर्घटनातर्फ लैजान नहुने चेतावनी हामीले दिएकै हो,” उहाँले उल्लेख गर्नुभयो।

उहाँले संविधान, शान्ति सम्झौता र गणतन्त्रको रक्षाका लागि भविष्यमा सहकार्यको सम्भावना रहन सक्ने भए पनि तत्कालीन चुनावी समीकरणका लागि भने कुनै सहकार्य नहुने दोहोर्‍याउनुभयो।

प्रचण्डको अभिव्यक्तिले भदौ २३ र २४ गतेका घटनाबारे पुनः राजनीतिक बहस चर्किएको छ। जिम्मेवारी निर्धारण र दोषीमाथि कारबाहीको विषयमा अब सरकारको कदम कस्तो रहन्छ भन्ने विषयमा चासो बढेको छ।

प्रकाशित मिति: १४ फाल्गुन २०८२, बिहिबार  २१ : ११  बजे