देश र संविधान रक्षाका लागि कांग्रेस–एमालेसँग पनि संवाद गर्न तयार छौँ : प्रचण्ड

काठमाडौं, १४ फागुन । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको वर्तमान राजनीतिक अवस्थालाई ध्यानमा राख्दै व्यवस्थाविरुद्ध उभिने शक्तिहरूका विरुद्ध आवश्यक परे प्रमुख दलहरूसँग पनि सहकार्य गर्न सकिने बताउनुभएको छ।

पेरिसडाँडामा आयोजित बाम बुद्धिजीवीहरूसँगको छलफलमा उहाँले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र तथा समावेशी समानुपातिक व्यवस्थाको रक्षाका लागि व्यापक राजनीतिक एकता आवश्यक रहेको उल्लेख गर्नुभयो। देश, संविधान र शान्ति प्रक्रियामाथि खतरा देखिए संवाद र सहकार्य अपरिहार्य हुने उहाँको भनाइ थियो।

उहाँले भन्नुभयो, “संविधान सभा, संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी समानुपातिक व्यवस्थाको प्रवक्ता हाम्रो पार्टी हो। त्यसैले राष्ट्र, संविधान र शान्ति प्रक्रियालाई कमजोर बनाउने प्रवृत्तिविरुद्ध उभिनु हाम्रो जिम्मेवारी हो। आवश्यक परे हिजोका सहयात्री दलहरूसँग पनि संवाद गर्नुपर्ने हुन्छ।”

कांग्रेस र एमालेसँग विगतको सहकार्य स्मरण गर्दै उहाँले राष्ट्रिय हितका सवालमा पुनः संवाद गर्न सकिने संकेत गर्नुभयो। “ती हिजोका हाम्रा सहयात्री हुन्। राष्ट्रको स्वतन्त्रता र स्वाधीनताको पक्षमा उभिनुपर्ने बेला उहाँहरूसँग सहकार्य गर्न हामी तयार छौं,” उहाँले स्पष्ट पार्नुभयो।

राष्ट्रलाई संकटबाट जोगाउन तथा स्थायित्व कायम गर्न अनुभवी राजनीतिक शक्तिहरूबीच सहमति आवश्यक रहेको उहाँको धारणा थियो। पछिल्लो समय विभिन्न कम्युनिस्ट घटकहरूबीच भएको एकतालाई उल्लेख गर्दै उहाँले २५–२६ वटा साना–ठूला समूह एकै ठाउँमा उभिनु ऐतिहासिक घटना भएको बताउनुभयो।

उहाँका अभिव्यक्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस सुरु भएको छ। प्रमुख दलहरूबीच पुनः सहकार्यको सम्भावना कत्तिको बलियो बन्छ भन्ने विषयमा राजनीतिक वृत्तमा चासो बढेको छ।

प्रकाशित मिति: १४ फाल्गुन २०८२, बिहिबार  ०८ : ३१  बजे