काठमाडौं, १२ फागुन । निवर्तमान सभामुख देवराज घिमिरे ले रवि लामिछाने प्रति लक्षित गर्दै निर्वाचित भए पनि सांसद पदमा बहाल रहन सक्ने कानुनी आधार नभएको अवस्थामा कुन नैतिकताले मत मागिरहनुभएको छ भनी प्रश्न उठाउनुभएको छ।
मंगलबार जारी गर्नुभएको विज्ञप्तिमा पूर्वसभामुख घिमिरेले लामिछानेले जनतालाई भावनामा बहकाउँदै अरूविरुद्ध अफवाह, घृणा र लाञ्छना फैलाएको आरोप लगाउनुभएको छ। उहाँले लोकतान्त्रिक अभ्यासमा उम्मेदवारहरूले आफ्ना एजेन्डा र कार्यक्रम प्रस्तुत गर्नुपर्ने भए पनि व्यक्तिगत आरोप र विभाजनकारी अभिव्यक्तिले दीर्घकालीन राजनीतिक लाभ नदिने उल्लेख गर्नुभएको छ।
विज्ञप्तिमा घिमिरेले भन्नुभएको छ, “रविजीले फैलाउनुभएको घृणाप्रति म खेद व्यक्त गर्दछु। तपाईंलाई जवाफ दिँदै म पनि भन्न सक्छु— निर्वाचित भएपछि सांसद पदमा बहाल रहन सक्ने कानुनी आधारसमेत नभएको अवस्थामा कुन नैतिकताले मत मागिरहनुभएको छ? तर म आक्षेप र आफू माथि देखिन अरूलाई अपराधी देख्ने प्रवृत्तिको पक्षमा छैन।”
बिर्तामोडमा आयोजित कार्यक्रममा लामिछानेले आफूलाई ‘जनताको आवाज उठाउँदा माइक काट्ने सभामुख’ भनी आरोप लगाउनुभएकोप्रति घिमिरेले आपत्ति जनाउनुभएको छ। उहाँले संसदमा माइक काट्ने वा समय सीमित गर्ने विषय सभामुखको व्यक्तिगत निर्णय नभई पूर्वनिर्धारित समय र नियमावलीअनुसार हुने स्पष्ट पार्नुभएको छ।
“जहाँसम्म संसदमा हरेक सदस्यले आफ्नो अभिव्यक्ति दिने अधिकार छ। तर संसदीय अभ्यासअनुसार सबै वक्तालाई समान अवसर दिन र छलफल व्यवस्थित गर्न समय निर्धारण गरिन्छ। माइक काट्ने विषय व्यक्तिगत धारणा होइन, नियमावलीअनुसारको प्रक्रिया हो,” विज्ञप्तिमा उल्लेख छ।
घिमिरेले आफू मात्र नभई उपसभामुख वा सभाको अध्यक्षता गरिरहनुभएका अन्य माननीयका पालामा पनि माइक काटिएको उदाहरण रहेको बताउनुभएको छ। संसदको वेबसाइटमा यससम्बन्धी विवरण हेर्न सकिने उल्लेख गर्दै उहाँले संसदीय अभ्यासबारे सामान्य जानकारी हुने व्यक्तिले यस्ता विषय नबुझ्नु अस्वाभाविक हुने टिप्पणी गर्नुभएको छ।
झापा क्षेत्र नम्बर २ मा एउटै कार्यकालका सभामुख, उपसभामुख र प्रतिनिधिसभा सदस्य नै उम्मेदवार रहेको सन्दर्भ उल्लेख गर्दै घिमिरेले प्रतिस्पर्धीबारे टिप्पणी नगर्ने प्रतिबद्धता यसअघि नै जनाइसक्नुभएको स्मरण गराउनुभएको छ।









प्रतिक्रिया