हाम्रो नेतृत्वमा दाङ शैक्षिक तथा प्रविधिक हब बन्दैछ : महासचिव पोखरेल

काठमाडौं, १२ फागुन ।  दाङमा शैक्षिक तथा प्रविधिक पूर्वाधार विस्तारको अभियान तीव्र बनाइएको बताउँदै शङ्कर पोखरेल ले दाङलाई शैक्षिक तथा प्रविधिक हबका रूपमा विकास गर्ने कार्य अघि बढिरहेको जानकारी दिनुभएको छ।

मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेकपा एमाले का महासचिवसमेत रहनुभएका पोखरेलले दाङको समग्र विकास कुनै एक दलको मात्र एजेन्डा नभई सम्पूर्ण जिल्लावासीको साझा हितको विषय भएको उल्लेख गर्नुभएको हो।

उहाँका अनुसार लामो समयदेखि अलपत्र अवस्थामा रहेको त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान, घोराही क्याम्पसको निर्माण प्रक्रिया तदारुकताका साथ अघि बढाइएको छ। स्रोत सुनिश्चित भएसँगै २०८२ साल वैशाख २३ गते बोलपत्र आह्वान गरिएको र २०८२ साल माघ ८ गते २० करोड ८७ लाख ४० हजार २२१ रुपैयाँमा निर्माण सम्झौता सम्पन्न भएको जानकारी उहाँले दिनुभयो।

उहाँले २०८४ सालभित्र निर्माण सम्पन्न गरी कम्प्युटर इन्जिनियरिङ कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको बताउँदै उक्त अत्याधुनिक क्याम्पसले दाङलाई सूचना प्रविधिको केन्द्रका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गर्नुभयो।

महासचिव पोखरेलले यस परियोजनाले ‘ब्याङ्लोर मोडल’ अनुरूप दाङलाई नेपाली ‘सिलिकन भ्याली’का रूपमा विकास गर्ने आधार तयार गर्ने धारणा राख्नुभयो। “जिल्ला अगाडि बढ्नु कुनै दल विशेषको हितको कुरा होइन, यो समग्र जिल्लावासीको भविष्यसँग जोडिएको विषय हो,” उहाँको भनाइ छ।

उहाँले दाङलाई शिक्षा, प्रविधि र नवप्रवर्तनको केन्द्र बनाउने दीर्घकालीन सोचका साथ योजनाबद्ध रूपमा काम भइरहेको स्पष्ट पार्नुभयो।

प्रकाशित मिति: १२ फाल्गुन २०८२, मंगलबार  ११ : १९  बजे