उत्तर कोरियाको सत्तारूढ दलको महासचिवमा फेरि किम जोङ नियुक्त

काठमाडौं, ११ फागुन । उत्तर कोरियाको सत्तारूढ ‘वर्कस पार्टी’ ले किम जोङ उनलाई फेरि महासचिवमा चयन गरेको छ । राजधानी प्योङयाङमा चलिरहेको पार्टी महाधिवेशनको चौथो दिन उहाँ महासचिवमा सर्वसम्मत चयन हुनुभएको समाचार संस्था एपीले जनाएको छ ।

पार्टीले किमको नेतृत्वमा आणविक क्षमता विस्तार र सैन्य शक्ति सुदृढीकरणलाई आउँदो पाँच वर्षको केन्द्रीय कार्यदिशा बनाउने सङ्केत दिएको छ ।

पार्टी नियमअनुसार सन् २०१६ यता प्रत्येक पाँच वर्षमा आयोजना हुने भेलाले महासचिव चयन गर्दै आएको छ । ४२ वर्षीय किमले पार्टीमा शीर्ष पद सम्हालिरहनुभएको छ – पहिले पहिलो सचिव, त्यसपछि अध्यक्ष र सन् २०२१ देखि महासचिवको पदमा रहँदै आउनुभएको छ ।

सत्तारूढ पार्टीले किम जोङ उनको नेतृत्वमा ‘आक्रमणको कुनै पनि खतरा’ र ‘कुनै पनि प्रकारको युद्ध’ सामना गर्न सक्ने सैन्य शक्ति निर्माण भएको दाबी गर्दै राष्ट्रिय गौरव र आत्मसम्मान बढेको उल्लेख गरेको छ ।

भेलाले शक्तिशाली केन्द्रीय समितिको नयाँ सूची सार्वजनिक गर्दै नेतृत्व तहमा पुस्तागत परिवर्तनको सङ्केत दिएको खबरमा उल्लेख छ । १ सय ३८ सदस्यीय निकायमा केही वृद्ध सैन्य अधिकारीहरू र सर्वोच्च जनसभाका ७६ वर्षीय अध्यक्ष चोइ रियोङ हे बाहिरिनुभएको छ । मार्सल पाक जोङ चोन र रि प्योङ चोललगायत विगत दशकमा आणविक विकाससँग जोडिएका केही उच्च अधिकारीहरू पनि सूचीमा समावेश हुनुभएको छैन । अन्तर–कोरियाली मामिलामा संलग्न किम योङ चोल र रि सोन ग्वोनलाई समेत हटाइएको दक्षिण कोरियाली एकीकरण मन्त्रालयका प्रवक्ता युन मिन होले बताउनुभएको छ ।

विश्लेषकहरूले किमले परम्परागत सेनालाई आणविक क्षमतासँग एकीकृत गर्ने नयाँ सैन्य लक्ष्य सार्वजनिक गर्न सक्ने आँकलन गरेका छन् । उहाँले विशेषतः कोभिड–१९ महामारीपछि चीनसँगको व्यापार र रुससँगको सहकार्यबाट लाभ लिने रणनीतिका बीच जन–परिचालनमार्फत आर्थिक ‘आत्मनिर्भरता’ अभियानलाई पुनः जोड दिने सम्भावना पनि देखिएको छ ।

किमले गएको सेप्टेम्बरमा बेइजिङ भ्रमण गरी चिनियाँ राष्ट्रपति सी जिनपिङसँग ६ वर्षपछि पहिलो शिखर वार्ता गर्नुभएको थियो । युक्रेन युद्धमा रुससँगको सहकार्य र आणविक कार्यक्रमको आक्रामक विस्तारपछि अमेरिका र दक्षिण कोरियासँगको सम्बन्ध थप तनावपूर्ण बनेको छ ।

प्रकाशित मिति: ११ फाल्गुन २०८२, सोमबार  २१ : २४  बजे