बुटवल । रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार तथा केन्द्रीय उपाध्यक्ष विष्णु पौडेल ले आफ्नो २० बुँदे चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ।
‘समृद्ध रूपन्देहीको आधार : शिक्षा, स्वास्थ्य, रोजगार र पूर्वाधार’ भन्ने नारासहित सार्वजनिक गरिएको प्रतिबद्धतापत्रमा कालीगण्डकी–तिनाउ बहुउद्देश्यीय डाइभर्सन आयोजना शुरू गर्ने प्रतिबद्धतादेखि एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रम सञ्चालन गर्ने योजना समेटिएको छ।
पूर्वअर्थमन्त्रीसमेत रहनुभएका पौडेलले गर्न सकिने तथा आफ्नो अगुवाइमा अघि बढेका योजनाहरू सम्पन्न गर्ने र निर्माणाधीन योजनालाई निष्कर्षमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँको प्रतिबद्धतापत्रमा कालीगण्डकी–तिनाउ नदी डाइभर्सन बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी निर्माण कार्य प्रारम्भ गर्ने उल्लेख छ।
पूर्वाधार र सहरी विकासमा जोड
सहरी विकासअन्तर्गत एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रम सञ्चालन गरी सबै वडालाई सुविधायुक्त बनाउने योजना अघि सारिएको छ। बस्तीबीचका हाइटेन्सन लाइन हटाउने, तीनवटा पालिकामा विद्युत्, इन्टरनेट र सडक बत्तीका तार भूमिगत प्रणालीमार्फत वितरण गर्ने तथा बुटवललाई महानगरीय ढाँचामा पूर्वाधार विकास गरी महानगरको मार्गतर्फ अघि बढाउने प्रतिबद्धता जनाइएको छ।
शिक्षा–स्वास्थ्य र आर्थिक विकास
रूपन्देहीलाई गुणस्तरीय विद्यालय तथा उच्च शिक्षाको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित भौतिक पूर्वाधार निर्माण र दक्ष जनशक्ति व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ।
स्वास्थ्यतर्फ १ हजार २०० शय्याको पूर्वाधार सम्पन्न गर्दै आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गरी प्रभावकारी सेवा उपलब्ध गराउने योजना प्रस्तुत गरिएको छ, जसबाट स्थानीय नागरिकलाई उपचारका लागि राजधानी वा अन्यत्र धाउन नपर्ने दाबी गरिएको छ।
यसैगरी कृषि, उद्योग–वाणिज्य, राष्ट्रिय राजमार्ग, पुल तथा स्थानीय सडक सञ्जाल, सिँचाइँ, नदी तथा पहिरो नियन्त्रण, संस्कृति–पर्यटन, भूमि समस्या समाधान, खेल पूर्वाधार, विद्युत्, सञ्चार तथा सूचना प्रविधि, सामाजिक सुरक्षा र डिजिटल अर्थतन्त्रलाई एकीकृत रूपमा अघि बढाउने एजेन्डा समेटिएको छ।
‘विकासका शब्द होइन, देखिने संरचना’ भन्ने नारासहित ठोस र कार्यान्वयनयोग्य योजनामात्र प्रतिबद्धतापत्रमा राखिएको निर्वाचन परिचालन कमिटीका संयोजक भोजप्रसाद श्रेष्ठले बताउनुभएको छ।
रूपन्देही–२ बाट लगातार चार पटक निर्वाचित भइसक्नुभएका पौडेल यसपटक पाँचौँ जितको खोजीमा रहनुभएको छ।









प्रतिक्रिया