काठमाडौं, ७ फागुन । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी)का अध्यक्ष केपी शर्मा ओलीले देश अहिले संवेदनशील दोबाटोमा उभिएको बताउनुभएको छ।
राजधानीमा आयोजित आसन्न निर्वाचनको घोषणापत्र सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै उहाँले मुलुकमा भत्काउने र बनाउने दुई फरक सोचबीच द्वन्द्व चलिरहेको उल्लेख गर्नुभयो।
“आज देश यस्तो दोबाटोमा उभिएको छ, जहाँ एकातिर आवेग र आक्रोश छ, अर्कोतिर विवेक र जिम्मेवारी छ,” अध्यक्ष ओलीले भन्नुभयो, “भत्काउने र बनाउने दुई सोचबीचको जारी द्वन्द्वमा देशलाई फेरि प्रयोगशाला बनाउन खोजिँदैछ।”
उहाँले वर्तमान परिस्थितिमा देश प्रश्नैप्रश्नको घेरामा परेको टिप्पणी पनि गर्नुभयो। निर्वाचनको केही साताअघि प्रतिबद्धता सार्वजनिक गरिरहँदा समाजमा अन्योल र जिज्ञासा बढेको अनुभूति भएको उहाँको भनाइ थियो।
अध्यक्ष ओलीले आगामी निर्वाचनलाई स्थायित्व, विकास र जिम्मेवार राजनीतिक दिशातर्फको छनोटका रूपमा लिन आग्रह गर्नुभयो।









प्रतिक्रिया