दमक, ५ फागुन । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दमकमा बनेको भ्यूटावरलाई बहुउद्देश्यीय व्यवसायिक कम्प्लेक्स र आधुनिक आईटी हबका रूपमा विकास गर्ने दीर्घकालीन सोचसहित अघि बढाइएको बताउनुभएको छ ।
भ्यूटावरलाई गलत रुपमा व्याख्या गरिएको भन्दै उहाँले यसलाई माथि चढेर हेर्नका लागि मात्रै नभएर नयाँ खालको आईटी हब, व्यवसायिक केन्द्र र आर्थिक गतिविधिको केन्द्रबिन्दु बनाउने लक्ष्य राखेर बनाईएको दाबी गर्नुभयो । झापा क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार समेत रहनुभएको ओली भन्नुभयो,‘यो दमकको पहिचान हो, दमकको विकासको एउटा झन्डा हो ।’
टावरसँगै आसपास क्षेत्रमा ‘ल्याण्ड पुलिङ’मार्फत नयाँ बस्ती विकास गर्ने योजना पनि अघि बढाइएको ओलीले सुनाउनुभयो । ‘यसका लागि धेरै प्रारम्भिक काम अघि बढिसकेको छ, उहाँले भन्नुभयो,‘हामी विदेशको जस्तो विकास चाहन्छौँ, तर फेरी यहाँ विकास किन चाहियो भनेर प्रश्न गर्छौं ।’
अध्यक्ष ओलीले दमक मात्र होइन, देशभर नै विकासको लहर ल्याउने एमालेको लक्ष्य रहेको बताउनुभयो । हामी यो क्षेत्रमा मात्र होइन, देशभर विकासको लहर ल्याएर मुलुकलाई समृद्ध बनाउने उहाँको भनाइ छ । झापाको दमक वडा नं. ३ ढुकुरपानीमा राष्ट्रिय गौरवको आयोजनाको रुपमा बनेको भ्यू टावर डेढ अर्बको लागतमा बनेको हो ।









प्रतिक्रिया