पशुपतिमा आएका नागा बाबासहितका साधुसन्तको आज बिदाइ, ३० लाख खर्च हुने

काठमाडौं, ५ फागुन । महाशिवरात्रिको अवसरमा दर्शनका लागि पशुपतिनाथ मन्दिर परिसरमा आउनुभएका नागा बाबालगायत साधुसन्तलाई आज दान–दक्षिणासहित बिदाइ गरिने भएको छ।

फागुन कृष्ण एकादशीदेखि पशुपतिमा बस्नुभएका साधुसन्तलाई फाल्गुन कृष्ण औँसीका दिन बिदाइ गर्ने परम्परा रहिआएको छ। उक्त कार्य गुठी संस्थानपशुपति क्षेत्र विकास कोष ले संयुक्त रूपमा गर्दै आएका छन्।

संस्थानका पूर्वउपप्रशासक दीपकबहादुर पाण्डेले विसं १८३१ मा जगतजङ्गले जगनन्द प्रकाशेश्वर गुठी स्थापना गरेदेखि साधुसन्त बिदाइ गर्ने परम्परा सुरु भएको जानकारी दिनुभयो। बिदाइ कार्यक्रमका लागि संस्थानले करिब ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको जनाएको छ।

नागा बाबालगायत साधुसन्तलाई स्तरअनुसार रातो, नीलो, सेतो, पहेँलो र हरियो रङका कार्ड वितरण गरिएको छ। सोही कार्डका आधारमा दक्षिणा प्रदान गरिनेछ। नेपाल बाहिरबाट आउनुभएका साधुसन्तलाई सीमासम्म पुग्न सहज होस् भन्ने उद्देश्यले दक्षिणा रकम बढाइएको जनाइएको छ।

पशुपति क्षेत्रका गोरखनाथ मठ, रामचन्द्र मन्दिर, भस्मेश्वर अखडा, निर्मला अखडा लगायत विभिन्न स्थानमा करिब चार हजारभन्दा बढी साधुसन्त बस्नुभएको कोषका कोषाध्यक्ष श्रीधर सापकोटाले जानकारी दिनुभयो।

पहिले थापाथलीस्थित कालमोचनघाटबाट बिदाइ गर्ने प्रचलन रहे पनि हाल पशुपतिको पश्चिम मूलढोकाबाट बिदाइ गर्ने व्यवस्था मिलाइएको छ। साथै थापाथली कालमोचनघाटमा रहेका विभिन्न अखडामा बस्नुभएका साधुसन्तलाई पनि आजै दान–दक्षिणासहित बिदाइ गरिने जनाइएको छ।

कोषले पाँच हजार एक सय २० रुपैयाँदेखि एक सय एक रुपैयाँसम्मका दरले दक्षिणा उपलब्ध गराउने तयारी गरेको जनाएको छ। यसका लागि करिब आठ लाख रुपैयाँ बजेट छुट्याइएको छ। साथै वर्षभर चढाइएका रुद्राक्ष पहिराएर साधुसन्तलाई सम्मानपूर्वक बिदाइ गरिने तयारी गरिएको छ।

महाशिवरात्रिका अवसरमा धुनी जगाउन सात लाख रुपैयाँ बराबरको ५० हजार किलो दाउरा खरिद गरिएको संस्थानले जनाएको छ।

भेटीघाटी पारदर्शी बनाउने उद्देश्यले लागू गरिएको नियमावलीपछि कोषको भेटी बाकसमा संकलित रकम १५ करोड रुपैयाँ पुगेको जानकारी पनि कोषले दिएको छ।

प्रकाशित मिति: ५ फाल्गुन २०८२, मंगलबार  ०७ : ४०  बजे