रुकुम पूर्वमा प्रचण्डको दौडाहा : ‘जेन–जीका नेताले प्रधानमन्त्री बनाउनुपर्ने रहेछ भन्न थाले’

काठमाडौं, ४ फागुन  । पुष्पकमल दाहाल यतिबेला आफ्नो निर्वाचन क्षेत्र रुकुम पूर्व मा चुनावी दौडाहामा हुनुहुन्छ। नेपाली कम्युनिस्ट पार्टी का संयोजक दाहाल बिहानदेखि साँझसम्म टोल–टोलमा कार्यकर्तासँग भेटघाट तथा मतदातासँग संवादमा व्यस्त हुनुहुन्छ।

आज बिहान मैकोटबाट कोल पुग्नुभएका उहाँले फल्नै गर्खानी, कोल, गोलखाडा, राङ्सी, नाखा र चारगाउँका मतदातासँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ। भेटघाटका क्रममा उहाँले नेपाली समुदायमा आधारित समाजवादको अवधारणा अघि सार्नुभयो।

“रुकुम पूर्व समाजवादको उर्वर भूमि हो। नेपालको समुदायमा आधारित समाजवाद निर्माणको आधार यही क्षेत्र बन्न सक्छ,” उहाँले भन्नुभयो, “हामीले चीन र भियतनामका मोडल अध्ययन गरेका छौँ, तर नेपालको समाजवाद नेपाली समुदायमा आधारित मौलिक खालको हुनेछ।”

पछिल्लो समय जेन–जी पुस्ताबाट देशको सही नेतृत्वका लागि आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने धारणा आइरहेको उहाँले उल्लेख गर्नुभयो। जेन–जीका नेताहरूले समेत नेकपालाई अभिभावक शक्तिका रूपमा बुझ्न थालेको उहाँको जिकिर थियो।

“जेन–जीका मुख्य नेताहरूले ‘प्रचण्डलाई प्रधानमन्त्री बनाएको भए हुने रहेछ’ भन्न थालेका छन्,” उहाँले थप्नुभयो, “त्यसको अर्थ म पदका लागि लागेको होइन, देश र जनताको चाहना बुझ्नुपर्छ भन्ने सन्देश हो।”

मैकोटसम्म गाडी बाटो पुगेकोमा खुसी व्यक्त गर्दै उहाँले सहिद मार्गको अवधारणा जनयुद्धकालमै प्रस्ताव गरिएको बताउनुभयो। सहरतारा हुँदै चीनसम्म कालोपत्रे सडक विस्तार गर्ने आफ्नो परिकल्पना रहेको उल्लेख गर्दै सहज र स्तरीय सडकमार्फत रमणीय मैकोट पुग्ने वातावरण बनाउने लक्ष्य लिएको उहाँको भनाइ थियो।

आफू प्रधानमन्त्री रहँदा सुरु गरिएको मध्यपहाडी राजमार्ग लाई थप स्तरीय बनाउने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो। विरोधीहरूले चुनाव जित्नकै लागि रुकुम आएको आरोप लगाएको प्रसंग उल्लेख गर्दै उहाँले १२ जिल्लाबाट एकल सिफारिस आए पनि अन्ततः रुकुम पूर्व रोजेको स्पष्ट पार्नुभयो।

“हिजोको मुख्य आधार इलाका रुकुम–रोल्पा थियो। पहिले रोल्पाबाट सुरु गरियो, यसपटक रुकुम पूर्वबाट देश निर्माणको नयाँ अध्याय सुरु हुन्छ,” उहाँले भन्नुभयो।

प्रकाशित मिति: ४ फाल्गुन २०८२, सोमबार  १७ : ४४  बजे