बुटवल, ४ फागुन। रुपन्देही–३ मा जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)का तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहनुभएका श्रीनिवास यादवले आफ्नो उम्मेदवारी फिर्ता लिँदै नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गर्नुभएको छ।
उहाँले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी परित्याग गरेको र नेकपा (एमाले)मा समाहित भएको घोषणा गर्नुभएको हो। यादव जसपा नेपालका केन्द्रीय सदस्यसमेत रहनुभएको थियो।
प्रचलित कानुनअनुसार उम्मेदवारी दर्ता गरी मतदाताको घरदैलोमा पुगिसकेको उल्लेख गर्दै उहाँले वर्तमान विषम राष्ट्रिय परिस्थितिमा मुलुकको राजनीतिक स्थायित्व र निकासका लागि एमाले नै प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित हुने विश्वास व्यक्त गर्नुभएको छ।
“आजका मितिदेखि जनता समाजवादी पार्टी (जसपा), नेपालको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी परित्याग गर्दै मेरो उम्मेदवारीसमेत फिर्ता लिँदै नेकपा (एमाले)मा समाहित भएको घोषणा गर्दछु,” विज्ञप्तिमा उल्लेख छ।
यादवले आफूलाई विश्वास गरी साथ दिनुभएका मतदातालाई एमालेको चुनाव चिन्हमा मतदान गर्न आह्वान गर्नुभएको छ। रुपन्देही–३ मा एमालेका तर्फबाट बासुदेव घिमिरे उम्मेदवार रहनुभएको छ।
एमाले प्रवेशका क्रममा पार्टीका जिल्ला अध्यक्ष यज्ञ गैरेसहित नेताहरू भुमिश्वर ढकाल, गोमादेबी आचार्य, भरत पोख्रेल, राजेन्द्र पन्थी, प्रमोद यादव, हरिप्रसाद अधिकारी, उमा काफ्ले र अनुप बराललगायतले उहाँलाई पार्टीमा स्वागत गर्नुभएको जनाइएको छ।









प्रतिक्रिया