प्रलोपा र नेमकिपाको घोषणापत्र सार्वजनिक

काठमाडौं, ३ फागुन । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले फागुन २१ गतेको प्रतिनिधिसभा चुनावका लागि प्रतिबद्धतापत्र नाम दिँदै आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।

आज काठमाण्डौमा आयोजित कार्यक्रममा नेताहरू सुदन किराती, दुर्गा सोब, सन्तोष परियारलगायतले सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा सङ्घमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रदेशमा प्रत्यक्ष निर्वाचित प्रदेश प्रमुख हुने प्रणाली लागू गर्ने उल्लेख छ ।यस्तै संसद्को भूमिका कानून निर्माणमा सीमित गर्नुका साथै ’राइट टू रिजेक्ट र राइट टू रिकल’ को व्यवस्था गर्ने पनि प्रलोपाको प्रतिबद्धता पत्रमा उल्लेख छ । प्रगतिशील लोकतान्त्रिक पार्टीले ‘सुदृढ लोकतन्त्र, समृद्ध समाज र स्वाधीन राष्ट्र’ भन्ने मूल नारा अघि सारेको छ ।नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले पनि प्रतिनिधिसभा चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।

आज एक कार्यक्रमकाबीच अध्यक्ष नारायणमान बिजुक्छेले सार्वजनिक गर्नुभएको घोषणापत्रमा जन्मका आधारमा नेपाली नागरिकता पाएका विदेशी छोराछोरीलाई वंशजका आधारमा नागरिकता दिने कानूनी व्यवस्था खारेज गराउनेसहित दुर्गम क्षेत्रहरूमा रोपवे, केबुलकार, सुरुङमार्ग र रेगमार्ग बनाउने कुरा समेटिएका छन् ।यस्तै सरकारी कर्मचारीहरूलाई तलब खुलाउन ऋण लिने र ऋणको साँवा ब्याज तिर्न पनि ऋण लिने कामको विरोध जारी राख्ने पनि घोषणापत्रमा उल्लेख छ ।

प्रकाशित मिति: ३ फाल्गुन २०८२, आइतबार  २० : ४८  बजे